चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले भन्दै आएको बक्स अफिस लागूको कार्यन्वयन केही पछि सरेको छ । तर, उनले अहिले ई टिकटिङ सिस्टम लागू गर्ने निर्णय गरेका छन् । कात्तिक १ गतेबाट काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै हलले यो सिस्टम जडान गर्नुपर्नेछ । केही मल्टिप्लेक्सलाई छाड्ने हो भने अधिकांश हलमा यो सिस्टम छैन ।
विकास बोर्डको शुक्रबार बसेको बैठकले यो सिस्टम कात्तिक १ गतेबाट लागू गर्ने निर्णय गरेको हो । यस्तै, माघ १ गतेबाट भने मोफसलका सबै हलमा यो सिस्टम जडान गर्नुपर्नेछ । अब, नयाँ हल खोल्न चाहने जुनसकुै व्यक्तिले पनि सुरुवातमै यो सिस्टम जडान गर्नुपर्नेछ ।
कप्यूटर प्रविधिबाट टिकट काट्ने र जाँच गर्ने यो नियम लागू भैसकेपछि बक्स अफिस लागू हुने बोर्डले बताएको छ । यो सिस्टम लागू नगर्ने हल बन्द हुने बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले बताए । हलहरुको सुधार र विस्तारका लागि यो सिस्टम जडान गर्नुपर्ने नियम बोर्डले बनाएको हो । यसका लागि छलफल गर्न, सुझाव संकलन गर्न आज काठमाण्डौ, भक्तपुर र ललितपुरका हल संचालकहरुसँग छलफल गर्ने तयारी बोर्डले गरेको छ ।

