असोज १ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म वडा नम्बर ६ को एक गीत सार्वजनिक गरिएको छ । वाइयात लभ बोलको गीत सार्वजनिक गर्दै यसको निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो ।
हाँस्यकलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा बनेको फिल्ममा निर्मल शर्मा कार्यकारी निर्माता छन् । निर्देशक उज्ज्वल घिमिरे एक बिहानै पोखरातर्फ लागेकाले कार्यक्रममा उपस्थित नभएको प्रस्तुतकर्ता दिपकले जानकारी गराए ।
कार्यक्रममा पत्रकारसँग रमाइलो खेल पनि खेलियो । रमाइलो खेलमा पेन ड्राइभ र मोबाइल गिफ्ट दिइएको थियो । कलाकार दिपकराजले केही फरक गरौ भनेर खेल खेलाएको बताए ।
चलचित्रका मुख्य कलाकारहरु जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे यसका निर्माता पनि हुन् । उनीहरुले थोरै लगानी गरेर पनि निर्माता बन्न पाइएको भन्दै रमाइलो गरेका थिए । कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता दयाहाङ राई पनि उपस्थित थिए । उनीहरुले टेलिभिजिनमा देखिएका कलाकारको टिमसँग काम गर्न पाउँदा खुबै रमाइलो भएको भन्दै फिल्म राम्रो भएको बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, वितरक तथा निर्माता प्रदिप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, मिडिया हबका प्रमुख सोम धितालले राम्रो ब्यानरको फिल्म भएकाले पनि चल्नेमा ढुक्क भएको बताए ।
यो फिल्मलाई एफडी कम्पनीले काठमाण्डौ बाहिरका लागि मिनिमम ग्यारेन्टी पनि दिइसकेको छ । फिल्म वडा नम्बर ६ ले ६ एकान ६ को जस्तो कमेडी मात्र नपस्केको भन्दै निर्माता तथा कलाकार दिपकराज गिरीले कथावस्तुलाई भिन्न तबरले पस्किएको बताए ।

