ज्यानको बाजी लगाएर भूकम्प पीडितलाई सहयोग गर्न र रमाइलो प्रदान गर्न विभिन्न स्थानमा पुगे, कलाकार जितु नेपाल । कहिले हुस्सु त कहिले पहिरोको जोखिम छिचोलेर नुवाकोटदेखि विभिन्न स्थानमा पुगेका जितुले कतै पनि यसको खबर पढ्न पाएनन् । तर, धादिङमा पुगेपछि जितु, माग्ने बुढा र कोमल वलीलाई प्रहरीले समात्यो भन्ने समाचार पढ्न पाए ।
राम्रो काम गर्दा समाचार नआएको तर प्रहरीले बोलाउँदा पक्राउ परेको भन्दै समाचार आएको भन्दै जितुले घुमाउरो शैलीमा मिडियासँग असन्तुष्टी पोखेका थिए । उनले मिडियालाई नेपाली कलाकारले गरेका कामको समाचार र तस्बिर पनि लेखिदिन आग्रह गरे ।
मिडियाविना कुनै पनि कुराको चर्चा नहुने भन्दै उनले नेपाली कलाकारलाई पनि स्थान दिन आग्रह गरे । उनले भने–‘भारतमा सलमान खानले रुमाल हल्लाउँदा पनि ठूलो ठूलो तस्बिरमा समाचार आउँछ, यहाँ हामीले यहाँ सिरक नै हल्लाउँदा पनि आउँदैन ।’ उनले नेपाली कलाकारलाई पनि मिडियामा बलिउडका कलाकारलाई जस्तै स्थान दिन आग्रह गरेका थिए ।

