अभिनेता राजेश हमालले स्वस्थ्य रहन हाइकिङ जानु राम्रो रहेको बताएका छन् । राजधानीमा शनिबार ‘हाइक फर नेपाल’ शीर्षकको क्याम्पेनको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् । उनले शनिबार बिहान नागार्जुन हिल गेटमा भएको क्याम्पेनमा ‘हाइक फर नेपाल’ लेखिएको टिसर्ट साइन गर्दै क्याम्पेनको उद्घाटन गरेका थिए । उनले हाइकका लागि आएका १५० भन्दा बढी सहभागिलाई सम्बोधन गर्दे हाइकिङमा युवाको सहभागिता सह्रानिय रहेको बताए ।
‘कार्यक्रममा सहभागिता लागि आएको यो भीड देखेर मलाई खुशी लागेको छ । स्वस्थ्य जीवन बाँच्नका लागि हाइकिङ उपयुक्त माध्यम बन्न सक्छ । तर हाइकरले यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने यात्राको रुपमा मात्र लिनु हुँदैन । यात्राका दौरानमा देखिने प्रकृति वा अन्य वस्तुलाई पनि अनभूत गर्दै आफ्नो आत्मालाई सक्रिय गराउने माधयमको रुपमा पनि लिनु पर्छ ।’ उनले एक दिन मात्र होइन यस्तो क्रियाकलापलाई आफ्नो दैनिकी बनाउन पनि आग्रह गरेका थिए ।
‘हाइक फर नेपाल’ वातावरणको क्षेत्रमा काम गरिरहेको युवाले विश्वलाई नेपाल यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिन सुरु गरिएको कार्यक्रम हो । क्याम्पेन संयोजक महेश शर्माले विदेशीसँगै देशकै आन्तरिक पर्यटन पनि सक्रिय बनाउन अभियानको थालनी गरेको जानकारी गराए ।

