नेपाली फिल्म ‘नरे’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा कमेडीलाई प्राथमिकता दिईएको छ । प्रोमो हेर्दा हङकङ जाने चाहना बोकेको एउटा गुरुङ समुदायको युवाको कथा देखिन्छ ।
कुनै पनि हालतमा हङकङ पुगेर धन कमाउने ध्याउन्नमा फिल्मको मुख्य पात्र ‘नरे’ देखिएको छ । खासगरि गुरुङ समुदायका युवाहरु हङकङ गैरहेको परिस्थितीमा फिल्म ‘नरे’ले पनि त्यहि कथाबस्तुलाई उठाएको देखिन्छ । यो विषयमा फिल्मका मुख्य पात्र नरजंग गुरुङ भन्छन् ‘कथालाई अगाडि बढाउनका लागि हङकङको प्रसंग फिल्ममा पनि विशेष रुपमा आएको छ ।’ फिल्ममा हाँस्यप्रधान गतिविधिसँगै दर्शकको मन छुने खालको पारिवारीक कथा पनि भएको उनले बताए ।
फिल्ममा नरजंगसँगै एलिशा गुरुङ र सबिना गुरुङ मुख्य भुमिकामा देखिएका छन् । फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । निर्माण यूनिटले यो फिल्मलाई साउनको २ गते भिआईपी शो गर्ने बताएको छ । भिआईपी शो भमरकोट पार्टी प्यालेसमा हुनेछ । यतिबेला भिआईपी शो का लागि निर्माण यूनिट प्रचारप्रसारमा व्यस्त छ । त्यस्तै अगस्टको २ गते पनि फिल्मको विशेष शो हुँदैछ ।
त्यसपछि देशका विभिन्न ठाऊँ र विदेशमा शो गर्ने निर्देशक माओत्से गुरुङले बताए । राजन कुँवर फिल्मका सहनिर्देशक हुन् । फिल्ममा समावेश गीतहरुको भिडियो निर्देशन नेत्र गुरुङले गरेका छन् भने सम्पादन समेत उनैले गरेका छन् । फिल्मको कोरियोग्राफर रोहन नेपाली हुन् । फिल्ममा नरजंगसँगै विनोद रसाईलीले समेत संगीत भरेका छन् । भेष गुरुङ फिल्मका छायाँकार हुन् ।

