पहिलो फिल्म 'हँसिया' प्रदर्शन पश्चात एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा चिनिएका मिलन चाम्सको दोस्रो प्रोजेक्टको घोषणा गरिएको छ ।
प्री-प्रोडक्सनको ९८ प्रतिशत कार्य सकिएको जानकारी दिंदै मिलनले युकेबाटै नयाँ फिल्मको नाम 'वीर बिक्रम' राख्ने घोषणा गरेका छन् । एक्सन, कमेडी र ड्रामा जनराको फिल्म 'वीर बिक्रम'मा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाहीको साथमा नयाँ अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ ।
यम थापाको कथा, राम केसीको छायाँकन, तारा प्रकाशको संगीत तथा रेनशा राईको नृत्यनिर्देशन रहने यो फिल्म चाम्स फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । मिलन स्वयंको लगानी रहने यो फिल्ममा सह-निर्माताको रूपमा अनिला राई, पृथ्बी राज राई र शिब कुमार राई रहनेछन् ।
भाद्र १ देखि फ्लोरमा जाने 'बीर बिक्रम'को सुटिङ कथामाण्डौ उपत्यका बाहिर छायाँकन हुने छ ।