कलाकार किरण केसीले आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । आज काठमाण्डौमा फिल्म, हाँस्य क्षेत्रका कलाकारहरुलाई बोलाएर उनले असार १५ र जन्मदिन मनाएका हुन् ।
उनले सो अवसरमा हाँस्य ब्यङग्य क्षेत्रका २ हस्तीलाई सम्मान गरे । हाँस्य ब्यङ्ग्य पत्रकारिता सम्मानबाट कार्टुनिस्ट दुर्गा बराल(बात्सायन) र कलाकारको तर्फबाट आनन्द थापालाई सम्मान गरिएको हो । दुबै श्रष्टालाई नगद १० हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको हो ।
केसीले विगत ३ बर्षदेखि असार १५ मा यस्तो कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्य र शिक्षामा हाँस्य ब्यङ्ग्य अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्दै उनले सबै कमेडी कलाकारहरुलाई एकसाथ जम्मा गरेका थिए । कार्यक्रमको उद्घाटन सबै जना एकसाथ हाँसेर गरिएको थियो । कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले हाँस्य ब्यङ्ग्यको महत्व बताएका थिए । उनीहरुले किरण केसीको बारेमा पनि चर्चा गरेका थिए । यस्तै, मनोज गजुरेल, बसुन्धरा भुषाल, शिवहरी पौडेल, दिपकराज गिरी, कोमल वलीले पनि किरण केसीको व्यक्तित्वको बारेमा बताए ।

