असार र साउनमा फिल्म हलमा चलाउने निर्मातालाई ६० प्रतिशत शेयर दिने बताएको चलचित्र संघ असारमै टुटेको छ । निर्माताले भदौ अगाडि फिल्म रिलिज नगर्दा हल व्यवसाय नै समस्यामा परेको भन्दै प्रोत्साहनका लागि ६० प्रतिशत शेयर दिने बताइएको थियो ।
तर, अध्यक्ष नकिम उद्दिनले मल्टिप्लेक्समा ६० प्रतिशत शेयर दिन नसक्ने भनेपछि चलचित्र संघबाट बनेको कार्यदलले आज राजिनामा दियो । महासचिव मधुसुदन प्रधान, उपमहासचिव देवेन्द्र खड्गी र उपत्यका सभापित गोपाल कायस्थको कार्यदलले काम गर्न नसक्ने भन्दै राजिनामा दिएको हो । कार्यदलका एक मधुसुदन प्रधानले कुनै कुरा गर्छु भनेर कुनै समितीमा बसेपछि गर्न सक्नुपर्ने नभए राजिनामको विकल्प नभएको बताए ।
अर्का कार्यदल सदस्य गोपाल कायस्थले अध्यक्षले सहयोग नगरेपछि राजिनामा दिएको बताए । अब, यो कार्यदलले राजिनामा दिएपछि निर्मातालाई दिने भनिएको ६० प्रतिशत शेयरको औचित्य पनि समाप्त भएको छ । असार र साउनमा फिल्म चलाएपनि निर्माताले अब पहिलेकै जस्तै ५० प्रतिशत शेयर पाउनेछन् ।

