फिल्म नगरीमा खासै चर्चा बटुल्न नसकेपछि अभिनेत्री विनिता घिमिरे अहिले यो क्षेत्रभन्दा टाढा छिन् । उनले आफू विदेशमा रहेको बताएपनि अन्य कुरा खुलाएकी छैनन् । विनिता नहुँदा अर्की अभिनेत्री सविना कार्कीलाई भने दौडधुप नै परेको छ ।
सविना र विनिताको मुख्य भूमिका रहेको फिल्म ‘वन साइड लभ’ असार १८ गतेबाट प्रदर्शनमा आउँदैछ । जसका कारण पनि सविनाको व्यस्तता अहिले बढेको हो । उनी फिल्म प्रमोशनमा आफै अग्रसर देखिएकी छिन् । फिल्म क्षेत्रमा लागेपनि उनको चर्चा खासै छैन । फिल्म ‘एटीएम’का कारण विवादमा परेपछि सविनाको करिअर धरमराएको हो । जसका कारण पनि फिल्म ‘वन साइड लभ’ चल्न सविनाका लागि जरुरी छ ।
देवेन्द्रराज पाण्डेको निर्देशनमा तयार भएको यो फिल्ममा राज सोनाम, सुशिल पोख्रेल, शित्तल श्रेष्ठ, रोयल आचार्यको साथमा निर्माता समेत रहेका कपिल खत्रीको मुख्य भूमिका छ । भुकम्पपछि नयाँ नेपाली फिल्म प्रदर्शनमा नआइरहेको अवस्थामा निर्माता खत्रीले यो जोखिम मोलेका हुन् । फिल्म चल्ने समय नजिक आएपछि अभिनेत्री सविना कार्की अहिले यसको प्रचारमा जोडतोडको साथ लागेको बताउँछिन् ।

