फिल्म ‘नाइँ नभन्नू ल ३’ले एचआइभी संक्रमित बालबालिकालाई एक लाख रुपैयाँ प्रदान गरेको छ । फिल्मले न्यानोपन हङकङको नेतृत्वमा गत मे २५ मा भएको शोबाट उठेको मध्ये शनिबार एक लाख रुपैयाँ कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनलाई प्रदान गरेको हो ।
न्यानोपनका संस्थापक कलाकार तथा क्याप्टेन विजय लामा, फिल्म निर्देशक विकास आचार्य र कलाकार अनुभव रेग्मी, संगीतकार बसन्त सापकोटाले रकम संस्थालाई हस्तान्तरण गरेका थिए । संस्थामा ७ देखि १३ वर्षसम्मका २१ जना एचआईभी संक्रमित बच्चाहरु छन् । संस्थाका संरक्षक विजय लामाले संक्रमित बालबालिकाले पनि अरुले झैं समान अवसर पाउनुपर्ने भन्दै उनीहरुको बसोबास तथा शिक्षाको व्यवस्थामा लागिपरेको बताए ।
त्यसैगरी निर्देशक विकास आचार्यले आउँदा दिनमा पनि विदेशमा फिल्म प्रदर्शनबाट आउने केही रकम संस्थालाई प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संस्थाका केही बच्चाहरुमा गाउने प्रतिभा देखेको बताउँदै आगामी दिनमा उनीहरुलाई गाउने वातावरण बनाईदिने बताए । कार्यक्रममा अनुभव रेग्मीले उनी अभिनित फिल्मका गीत गाएर सुनाएका थिए ।

