वैशाखदेखि साउनसम्म चुपचाप बसेका फिल्मकर्मी भदौबाट भने जुरमुराउने भएका छन् । ४ महिना रोकिएका फिल्म भदौबाट प्रदर्शनमा आउँदा चाप बढ्ने खतरा बढेको छ । जसको प्रत्यक्ष उदाहरण भदौमा प्रदर्शनमा आउन लागेका ठूला फिल्म देखिनेछन् ।
भदौको ४ गते फिल्म होस्टेल रिटन्र्स आउने पक्का छ । वैशाख २५ गतेबाट सरेको यो फिल्म भदौ ४ मा पुगेको हो । भदौ ११ मा वैशाख ११ मा एकदिन चलेर तहल्का मच्चाएको फिल्म रेशम फिलिली लाग्नेछ । यो फिल्मसँगै अभिनेता निखिल उप्रेती अभिनित फिल्म भैरव पनि हलमा आउनेछ । यी दुइको भिडन्त रोचक हुनेछ । २ हप्तामा ठूला ३ फिल्म प्रदर्शनमा आउँदा निर्माताको व्यापारमा असर पर्ने देखिन्छ ।
भदौको १८ मा आजसम्म कुनै फिल्मको मिति तोकिएको छैन । तर, भदौ २५ मा २ वटा फिल्म आउने देखिएको छ । निर्माता सुशिल पोख्रेल र नरेन्द्र महर्जनले बनाएको फिल्म लभ सब लामो समयको प्रतिक्षापछि प्रदर्शनमा आउने छ । यो फिल्मको मिति बिहिबार मात्र तोकिएको हो । यो फिल्मसँगै शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म जाउँ हिड पोखरा पनि हलमा लाग्ने चर्चा छ । आजसम्म ५ वटा आशा गरिएका फिल्मले मिति तोकेका छन् । यसैले भदौ महिना नेपाली फिल्मका लागि महत्वपूर्ण देखिएको छ । असोजमा पनि फिल्म प्रदर्शनको सूची लामै छ ।

