अभिनेत्री करिश्मा मानन्धरको सह संयोजनमा परम् शक्तिपीठले निर्माण गरेका ७५ अस्थायी घरहरु मध्ये ५० वटा अस्थायी घरहरु भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । काठमाण्डूस्थित धर्मस्थली नगरपालिकामा पर्ने चोगाउँमा निर्माण गरिएका उक्त संख्याका अस्थायी घरहरु सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा मंगलबार त्यहाँका भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो । बाल्सल्य कुटी नामाकरण गरिएका अस्थायी घर हस्तान्तरण कार्यक्रममा मन्त्री रिजालसँगै चलचित्र विकास वोर्डका अध्यक्ष एवं दर्जन बढी कलाकार चोगाउँ पुगेका थिए ।
अस्थायी घरको शिलालेख उद्घाटन गर्दै मन्त्री रिजालले परम् शक्तिपीठ र कलाकारले निर्माण गरेको अस्थायी घर निर्माणलाई परोपकारी कामको अनुपम उदाहरण रहेको बताए ।
त्यस्तै चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले विपत्मा कलाकारले पनि सहयोग गर्न सक्छन् उदाहरण चोगाउँमा निर्माण भएका अस्थायी घरले पेश गरेको बताए ।
कार्यक्रममा अस्थायी घर निर्माण समितिमा रहेका सदस्यहरु विनोद मानन्धर, आकाश अधिकारी, झरना थापा, दीपाश्री निरौला, प्रकाश सुवेदी, बाबुराम दाहाल सहित सरोज खनाल, बसुन्धरा भूषाल, गौरी मल्ल, रमेश उप्रेती, दीलिप रायमाझी, दीपकराज गिरी, कोमल वली, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’ लगायत कलाकार, निर्देशक तथा निर्माता सहभागी थिए ।
कोमल वली, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे ‘माग्ने बुढा’ ले स्थानियलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिलाए थिए भने शक्तिपीठकीसाध्वी ऋतंभराले प्रेरणामुलक प्रवचन दिइन् । बाँकी रहेका २५ वटा अस्थायी घर एक साता भित्र निर्माण गरेर भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिने करिष्माले बताइन् ।

