‘टाइटानिक’ अभिनेता लियोनार्दो डिकाप्रियो र बेलायती अभिनेत्री जोहाना लुम्ले नेपाल आउने भएका छन् । उनीहरु दुवै जना सरकारले गर्न लागेको दाता सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । सरकारी समाचार संस्था राससले दाता सम्मेलनमा भाग लिन आउने अतिथीहरुमा डिकाप्रियो र लुम्लेको नाम पनि उल्लेख गरेको छ ।
अभिनेता डिकाप्रियो विश्व बन्यु जन्तु कोषका सद्भावना दूत हुन्् । उनी केही साल पहिले नेपाल आएका थिए र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । सो क्रममा बाघको आक्रमणमा परेर आँखा गुमाएका एक व्यक्तिलाई चश्मा उपहार दिएका कारण उनको भ्रमणले चर्चा पाएको थियो ।गोर्खा सिपाहीलाई बेलायती सरह सेवा सुविधा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकी जोआना लुम्लेले भूकम्प पीडितका लागि ५ अर्व भन्दा बढी रकम संकलन गरेकी थिइन् ।
राससले दाता सम्मेलनमा आउने अतिथीमा डिकाप्रियोको नाम सामेल गरेको भएपनि नेपाल स्थित विश्व बन्य जन्तु कोषको कार्यालयले अनभिज्ञता प्रकट गरेको छ । सञ्चार अधिकृत सिम्रिका शर्माले आएका समाचारमा अनभिज्ञता प्रकट गर्दै सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरेकी छिन् ।

