नेपाल चलचित्र प्राविधिक संघले आठौ नेफ्टा अवार्डको शुभारम्भ गरेको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै संघले आठौ नेफ्टा अवार्ड कतारमा आयोजना हुने बताएको हो । नेपाली चलचित्र क्षेत्रका विभिन्न नायक तथा नायिकाले केक काटेर अवार्ड कार्यक्रमको उद्घाटन गरे ।
कतारमा आयोजना हुने अवार्डका लागि ७५ वटा नेपाली चलचित्रले भाग लिएका छन् । आइतबार चलचित्र संघको हलमा चलचित्र हेरेर अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ । कार्यक्रममा चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राजकुमा राइलाई संघले वधाई तथा शुभकामना दिएको थियो । यो बर्षको अवार्डका कार्यक्रमका लागि विशेष श्रेष्ठ, नारायण पुरी, रक्षा सिंह राणा, भरत शाक्य, करुण थापा, विरेन्द्र हमाल जुरीको रुपमा रहेका छन् । हरेक दिन २ वटा चलचित्र जुरीले भोलीबाट हेर्न सुरु गर्नेछन् । वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्र अवार्डमा सहभागी भएका छन् ।
अन्तरराष्ट्रिय कलाकार फोरम अतारको सहकार्यमा अवार्ड आयोजना हुन लागेको हो । कार्यक्रममा कलाकारहरु जीवन लुइटेल, करिश्मा मानन्धर, ऋचा शर्मा, शिल्पा पोख्रेल, वेनिशा हमाल, सरिता गिरी, शोभिात सिंखडा, गजित बिष्ट, सुरक्षा पन्त, यशराज गौरव पहारी, नन्दिता केसी, केकी अधिकारीले संयुक्त रुपमा केक काटेका थिए ।
त्यसअघि, विभिन्न संघसंस्थाका अध्यक्षहरुले क्रायकर्स पड्काएर कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले पुराना जुरी मात्र होइन नया“ पुस्तालाइ पनि जुरीमा समावेश गर्नुपर्ने आवश्यकता औलाए ।यस्तै, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले कुरा काट्नेहरुले काट्दै गरेपनि आफूहरुले काम गर्न नछाड्ने बताए ।
जुरीका तर्फबाट निर्देशक नारायण पुरीले अवार्डलाई विवादबाट टाढा राख्न नसकिएपनि यसलाई कम गर्न प्रयास गर्ने बताए । नायिका करिश्मा मानन्धरले नेफ्टा हरेक बर्ष माथि उक्लदै अवार्ड गर्न सक्षम भएको बताइन् । अवार्डका संयोजक शिव पुरीले सबैको सहयोगको अपेक्षा गरे । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारका उपाध्यक्ष रित श्रेष्ठले सबै तयारी आफूहरुले गरिरहेकोले अवार्ड सफल हुने विश्वास व्यक्त गरे ।
स्वागत मन्तव्य राख्दै महासचिव अनन्त तिमिल्सिनाले नेफ्टा सबैको सहयोगका कारण यो स्थानमा आएको बताएका थिए । नेफ्टाले यसै बर्षदेखि मिडिया संयोजक पनि नियुक्त गरेको छ । यो बर्षका लागि रंग पत्रकार विजय सुवेदी ‘आवाज’लाई मिडिया संयोजक नियुक्त गरिएको छ । छैटौ नेफ्टा अवार्डबाट विदेशी भूमिमा पुगेकी चलचित्र प्राविधिक संघले मलेसिया, हङकङपछि कतारमा अवार्ड आयोजना गर्न लागेको हो ।

