अमेरिकामा रहेकी अभिनेत्री जल शाहले पनि नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेकी छिन् । शाहले भूकम्प पीडितलाई राहत तथा पुनस्र्थापनामा सघाउने उद्धेश्यले युवा फिल्मकर्मीहरुले सुरु गरेको ‘सबैका लागि हामी’ अभियानलाई रु १ लाख १ हजार प्रदान गरेकी हुन् ।
युवा फिल्मकर्मीले आफ्नै गोजीबाट पैसा निकालेर सुरु गरेको अभियानले आजसम्म काठमाडौं, भक्तपुर, धादिङ र नुवाकोटमा सय भन्दा बढी घर निर्माण भईसकेका छन् । अभियानले हाल हेल्प नेपाल नेटवर्कसँग मिलेर ५ सय घर निर्माण गरिरहेको छ । अभियानले काभ्रेको पोखरीचौरीमा तीन विद्यालय निर्माणको काम थालेको संयोजक सुरेश दर्पण पोखरेलले जनाएका छन् ।
राजेश हमालका साथमा ‘अवतार’ फिल्म खेल्दै क्षेत्रमा प्रवेश गरेकी जल शाहले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।ऋमेरिकाबाट जल शाहसँगै उषा श्रेष्ठ र शारदा पोखरेलले पनि क्रमशः ३० हजार र २० हजार सहयोग गरेको पोखरेलले जानकारी गराए ।

