लाइफटाइम कलेक्सनमा रेकर्ड राखेको फिल्म हो ‘कोहिनूर’। फिल्मले देशबाट मात्र १२ करोड व्यापार गरेको निर्माताको आँकडा छ । विदेशतिरको शोको बेग्लै हिसाब छ । तर यही ‘कोहिनूर’ अवार्डका मुख्य विधामा प्रतिस्पर्धामा छैन । ‘कोहिनूर’ को गीतसंगीत र कथावस्तु पनि तारिफयोग्य नै थियो । फिल्म चलेपछि त्यसलाई सफल मानिन्छ ।
तर, बिहीबार सार्वजनिक भएको एनएफडीसी राष्ट्रिय फिल्म पुरस्कारमा भने गतबर्षको सर्वाधिक सफल फिल्म ३ विधामा मात्र नोमिनेशनमा परेको छ । फिल्मबाट सर्वोत्कृष्ट पाश्व संगीतको विधामा एलिस कार्की नोमिनेशनमा परेका छन् भने यस्तै छायांकारतर्फ राजु थापा र सम्पादन तर्फ वनिश शाह नोमिनेशनमा परेका छन् । अन्य कुनै पनि विधामा यो फिल्म पर्न सकेको छैन ।
यो फिल्मको गीतसंगीत र तिनको कोरियोग्राफी पनि उत्कृष्ट रहेको प्रतिक्रिया सबैबाट प्राप्त भएको थियो । तर फिल्मले त्यस्ता विधामा पनि मनोनयन नपाएपछि बजारमा चर्चा चल्न थालेको छ । तेश्रो संकरणसम्म आइपुग्दा एनएफडीसी अवार्ड चर्चित भैसकेको छ । यसैले पनि यस्तो चर्चित अवार्डको नोमिनेशनमा सबैको आँखा पर्नु स्वभाविक नै हो । आकाश अधिकारीले निर्देशन गरेको यो फिल्ममा स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ, अभिनेत्री स्वेता खड्काको मुख्य भूमिका छ ।
यस्तै, अर्को तारिफयोग्य फिल्म ‘माला’ले पनि जम्मा १ विधाको नोमिनेशनमा चित्त वुझाएको छ । गतबर्ष चलेका फिल्महरुमा ‘माला’ले सबैभन्दा धेरै तारिफ पाएको थियो । मनोज कुमार केसी पाश्र्व संगीतको विधामा ‘माला’बाट नोमिनेशनमा परेका छन् । फिल्मको पटकथा, कथा, संवाद, कलाकार अभिनय र निर्देशकिय पाटोलाई सवैभन्दा धेरै रुचाइएको थियो ।

