१० बर्षपछि फिल्म निर्देशनमा फर्किएका निर्देशक अनिल संग्रौलाले कर्मा नामक फिल्म बनाउने भएका छन् । उनले आज यो फिल्म बनाउने जानकारी एक कार्यक्रम गरेर दिएका हुन् । यो फिल्ममा नेपाली फिल्म क्षेत्रमा नम्बर १ भनिएका अभिनेताद्धय आर्यन सिग्देल र जीवन लुइटेल मुख्य भूमिकामा हुनेछन् ।
फिल्ममा नीता ढुंगाना र शर्मिला मल्ल पनि पक्का भैसकेका छन् । अन्य कलाकारको छनोट केही दिनमा नै हुने निर्देशकले बताए । फिल्ममा एक नेपाली वैज्ञानिक र उनको आविष्कारको बिषयलाई उठाइनेछ । यो फिल्मको मुख्य भिलेन कुनै कलाकार नभएर प्रविधी भएको अनिलले जानकारी दिए ।
फिल्ममा अनिल संग्रौला, अम्बिका रायमाझी, किरण खनाल गौतम र भानु महर्जन निर्माताको रुपमा रहनेछन् । स्काइ फिल्मस्को ब्यानरमा बन्ने यो फिल्ममा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको द्धन्द्ध, कविराज गहतराजको नृत्य रहने पक्का भएको छ ।
फिल्ममा अर्की एक अभिनेत्री पनि आवश्यक रहेको छ । फिल्मको छायांकन साउनबाट सुरु गर्ने र चैत्र २६ गते प्रदर्शन गर्ने निर्देशक तथा निर्माता संग्रौलाले जानकारी दिए । फिल्ममा अभिनेता आर्यन सिग्देल नेगेटीभ र जीवन लुइटेल पोजेटिभ भूमिकामा देखिदैछन् ।

