फिल्म अधकट्टीको काठमाण्डौको कुमारी हलमा च्यारेटी शो सम्पन्न भएको छ । कुमारी हलका २ वटै पर्दामा फिल्म देखाइएको थियो । जसबाट करिब ८ लाख रुपैयाँ उठेको निर्माता प्रदिप कुमार उदयले जानकारी दिएका छन् ।
भुकम्पबाट प्रत्यक्ष पीडित बनेका चलचित्र प्राविधिकहरुको सहयोगार्थ यो च्यारेटी शोको आयोजना गरिएको हो । च्यारेटीबाट उठेको सम्पुर्ण रकम एक कार्यक्रम आयोजना गरेर हस्तान्तरण गर्ने निर्माता उदयको भनाई छ । अन्तराष्ट्रिय कलाकार मञ्चले आयोजना गरेको च्यारेटी शोलाई अभिनेत्री ऋचा शर्माले संयोजन गरेकी थिइन् ।
फिल्मको शोमा नेपाली फिल्म क्षेत्रबाट बाक्लो उपस्थिती थियो । अधिकांश अभिनेत्री फिल्म हेर्न हलमा पुगेका थिए । अभिनेत्रीहरु प्रियंका कार्की, केकी अधिकारी, वेनिशा हमाल, ऋचा शर्मा, पूजा शर्मा हलमा देखिए । फिल्मका मुख्य कलाकार अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, गजित बिष्ट, प्रदिप बाँस्तोला, नम्रता श्रेष्ठ पनि हलमा देखिए ।
यस्तै अभिनेता आर्यन सिग्देल, सुदर्शन थापा पनि हलमा पुगेका थिए । फिल्म हेरिसकेपछि सबैले यसको कमेडी पाटोलाई रुचाएको पाइयो । सुव्रत आचार्यले निर्देशन गरेको यो फिल्ममा कलाकार विल्सन विक्रम राईको भूमिकाले दर्शकलाई पेट मिचिमिच हसाँएको छ । फिल्मको अब केही दिनबाट नै काठमाण्डौ बाहिर च्यारेटी गर्ने निर्माता उदयको भनाई छ ।

