Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुढ्यौलीमा देश प्रेम

फिल्मीखबर, काठमाडौं, 2015/06/15

कोही कलाकार छन् जो फिल्म क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनीहरुले दर्शकको माया र सम्मान पनि पाएका छन् । अल्पायूमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको हजारौको भीडले कलाकारप्रतिको सम्मान देखायो ।

 

अभिनेता राजेश हमाल हुन् या रेखा थापा, कुनै कार्यक्रममा पुग्दा दर्शकले घेरेर माया देखाउँछन् । तर, केही यस्ता कलाकार छन्  जसले दर्शकको माया पाउन सकेका छैनन् । कुनै समयमा चल्तीका कलाकारलाई दर्शकले माया दिन सकेनन्, कारण उनीहरु उमेरमा नेपालमा बसेनन् । हुनत, अहिले फिल्म क्षेत्र विदेश जाने सजिलो बाटो पनि बनेको छ । केही फिल्ममा काम गरेर आफ्नो बायोग्राफी बनाउने अनी विदेशमा गएर जवान उमेर कटाउनेहरुको संख्या यहाँ कम छैन ।

 

अभिनेता सरोज खनाल करिब १५ बर्ष अमेरिका बसेर केही दिन अगाडि नेपाल फर्किए । उनको नेपाल फर्काइ शुन्य जस्तै देखियो । उनलाई एयरपोर्टमा स्वागत गर्न वा उनीसँग तस्बिर खिचाउन दर्शक देखिएनन् । कारण, उनले  नेपाली फिल्म क्षेत्रलाई टुहुरो बनाएर अमेरिका हानिएका थिए । पैसाको बिटा कमाएपछि उनी अब अमेरिका बस्दिन भन्दै नेपाल आए । तर, उनको नेपाल आगमन उनका आफन्तका लागि सुखद बनेपनि फिल्म क्षेत्रका लागि 'हात्ती आयो हात्ती आयो फुस्सा' जस्तै बन्यो ।

 

केही समय अगाडि अभिनेता रमेश उप्रेती र अभिनेत्री गौरी मल्ल पनि नेपाल फर्किए । तर, दुबै जना कलाकारलाई नेपाली फिल्म क्षेत्रले पत्याउन सकेको छैन । दर्शकले पनि रमेश र गौरी नेपाल फर्कदा ताली बजाउन सकेनन् । रमेश निर्मल शर्माको 'ब्रासलेट'मा हिरो बनेका छन् भने गौरी मल्ल आमाको भूमिकामा फाट्टफुट्ट देखिएकी छिन् ।

 

अभिनेत्री करिश्मा मानन्धर पनि ९ बर्ष अमेरिका बसेर नेपाल फर्किइन् । तर, उनले अमेरिका जानु अघि बनाएको क्रेज अहिले ध्वस्त भएको छ भन्दा हुन्छ । करिश्मा पनि केही फिल्ममा देखिनु बाहेक कुनै उपलब्धी हुन सकेको छैन ।

 

उमेरमा  नेपाली कला क्षेत्रलाई विकास र विस्तार गर्न छाडेर निहित्त स्वार्थका लागि विदेश हानिएका कलाकार नेपाल फर्किएका छन् । यो क्रम रोकिएको छैन । अहिले पनि विभिन्न बहानमा कलाकार विदेश पुगेका छन् । तर, विदेश हानिएसँगै उनीहरुको हातमा सुखसयल आएपनि दर्शकको माया र स्टारक्रेज देखिएको छैन ।

Most Visited News (monthly)