अभिनेत्री नम्रता श्रेष्ठ आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । नेपाली मिति अनुसार उनको जन्मदिन असार १ गते भएको हो । तर, जुन १४ मा उनी जन्मदिन मनाउने गर्छिन् । नेपाली फिल्म क्षेत्रमा लागेपछि विभिन्न कारणले चर्चामा रहेकी नम्रताले सफल फिल्म पनि दिएकी छिन् । विशेषगरि, एक अश्लिल भिडियो काण्डमा फसेपछि नम्रताको करिअर केही समय धरमराएको थियो ।
तर, आफूलाई सम्हाल्दै नम्रताले कमब्याक गर्न सफल भएकी छिन् आज पनि निर्माता निर्देशकको रोजाईमा पहिलो नम्बरमा पर्ने गरेकी छिन् । तुलनात्मक रुपमा थोरै फिल्म खेलेकी नम्रताका फिल्मले बक्स अफिसमा धमाल नमच्चाएपनि दर्शकका मनमा भने छाप छाड्न सफल भएका छन् । जन्मदिनको अवसरमा हामीले उनका केही चर्चित फिल्महरु छान्ने प्रयास गरेका छौं ।
सानो संसार
म्युजिक भिगियो र कान्तिपुरमा एफएममा आरजे भईरहँदा आलोकले नम्रतालाई यही फिल्म मार्फत् डेब्यु गराएका थिए । कोरिएल फिल्म ‘माई सासी गर्ल’को नक्कल गरिएको फिल्ममा नम्रता र कर्माको जोडी थियो । फिल्मको छायांकन र आलोक नेम्बाङको नामका कारण फिल्मले चर्चा पाएको थियो ।
मेरो एउटा साथी छ
नम्रता र आर्यनको जोडीलाई सफल जोडी मान्ने गरिन्छ । ‘मेरो एउटा साथी छ’ मा पहिलो पल्ट दुवैको जोडी बाँधिएको थियो । दुवैको अभिनय रहेको दोस्रो फिल्म ‘नोवेम्बर रेन’ पनि सफल भएपछि आर्यन र नम्रताको जोडीलाई सफल जोडी मानिएको हो । दुर्भाग्यवश यो फिल्म पनि कोरियन फिल्म ‘मिलिनियर्स फस्ट लभ’ को नेपाली अनुवाद थियो । ओभर बजेट र बिचैमा आएको नम्रताको भिडियोको कारण फिल्मले लगानी उठाउन नसकेपनि अभिनयका हिसाबले आर्यन नम्रता दुवैका लागि यो फिल्म माइलस्टोन मानिन्छ ।
मौन
रिलिज अघि फिल्मले जति चर्चा पाएको थियो रिलिज पछि फिल्ममा त्यो चार्म त भेटिएन तर पनि नम्रताको यो फिल्म चरित्रका हिसाबले भिन्न थियो । फिल्ममा नम्रताले लाटी युवतीको भूमिका निर्वाह गरेकी छिन् । अर्पण थापासँग जोडी बाँधेकी नम्रताको यो फिल्मले फरक क्षमताका युवा युवतीको प्रेमलाई विषय बनाएको थियो ।
नोवेम्बर रेन
कोरियन फिल्मकै स्वादमा बनेको यो फिल्म बक्स अफिसमा सफल भएका कारण पनि नम्रताको हेरिनुपर्ने फिल्मको सूचीमा अटाउँछ । कथाको केन्द्रविन्दूमा आर्यन भएपनि फिल्मबाट छुल्ठिम गुरुङले वाहवाही पाएकी थिइन् । डाक्टरको भूमिकामा देखिएकी नम्रताको भूमिका पनि कमजोर चाहिँ छैन ।

