भूकम्पका कारण निर्धारित मितिमा रिलिज हुन नसकेको फिल्म ‘वन साइड लभ’ असार १८मा रिलिज हुने भएको छ । निर्माता तथा नायक कपिल खत्रीले फिल्म अब असार १८मा देशभरका पर्दामा रिलिज हुन लागेको जानकारी गराए ।
‘फिल्म तयार भएको लामो समय भईसक्यो । दुई चोटि त रिलिज मिति नै सरिसक्यो । धेरै ढिला नहोस् भनेर असारको मिति लक गरेका हौं,’ कपिलले भने । फिल्म यसअघि असोजमा रिलिज हुने तयारीमा थियो तर पोस्टको काम नसकिएपछि निर्धारित मितिमा रिलिज हुन सकेको थिएन । त्यसपछि फिल्मले जेठ ८ मा रिलिज गर्ने तयारी गरेको थियो । बीचैमा भूकम्प आएर दैनिकी अस्तव्यस्त बनेपछि ‘वन साइड लभ’ को रिलिज पनि पोस्टपोन्ड भएको थियो ।
फिल्मले नयाँ मिति सार्वजनिक गर्दै प्रमोसनमा जुट्ने जनाएको छ । देवेन्द्रराज पाण्डेको निर्देशन रहेको फिल्ममा निर्माता कपिल खत्रीसँगै राज सुनाम,सबिना कार्की,, सुशील पोखरेल, बिनिता घिमिरे, काजिश श्रेष्ठ, सितल शैलुङ आदिले अभिनय गरेका छन् ।

