पोखराबाट निर्माण भएको नेपाली फिल्म 'धौली'को विशेष प्रदर्शन हुने भएको छ । जेठ ३० गते शनिबार पोखरामा विशेष शो हुने निर्माण ब्यानर ‘स्पाईनल ब्याब्लर क्रियशन’ले जनाएको छ । लामो समय यता पोखराको रंगकर्ममा लाग्दै आएका व्यक्तिहरुले फिल्मको निर्माण गरेका हुन् ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । 'धौली'को प्रदर्शनको लागि सम्पूर्ण तयारी पुरा भएको उनले बताएका छन् । साथै उनले पोखराबाट बनेको फिल्म ‘धौली’ पोखरेलीले गौरव गर्ने खालको भएको दाबी गरेका छन् । धौलीबारे प्रस्ट्याउँदै उनले भनेका छन्–‘धौली चरित्र तपाई हामीले दैनिक देखिरहेकै चरित्र हो । यसले हाम्रो समाजको वर्गीय खाडललाई चित्रण गर्न खोजेको छ ।’
शम्भु थापाको प्रस्तुतीमा बनेको यो फिल्मका मुख्य कलाकारहरु गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, गीता अधिकारी, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा लगाएत छन् । फिल्म पोखरा, दमौलीसँगै केहि दृश्यहरु काठमाण्डौमा पनि छायाँकन भएका छन् । फिल्ममा ५० लाख रुपैयाँ लगानी रहेको कम्पनीले जनाएको छ ।
फिल्मलाई दिव्यराज सुवेदीले खिचेका हुन् । फिल्मको द्वन्द निर्देशन रोशन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफि कविराज गहतराजले गरेका छन् । फिल्मको संगीतकार बसन्त सापकोटा हुन् ।

