नयाँ नेपाली फिल्म नचलेपछि अहिले हलवालाहरु छटपटिएका छन् । पुराना फिल्म हेर्न दर्शक नआउने भएकाले पनि हलवालाहरुको व्यापार शुन्य जस्तै छ । यसैले अब जेठ २९ गतेबाट हलमा विराज भट्टको भोजपुरी फिल्मलाई नेपालमा चलाउने तयारी गरिएको छ । ‘कुन्डली’ नामक फिल्मलाई नेपाली भाषामा डब गरेर हलमा ल्याउने तयारी भएको हो ।
केही समय पहिले भोजपुरी फिल्मलाई कर तिर्नका लोभले नेपाली फिल्म भनेर चलाउने गरिएको थियो । बीचमा यसको बिरोध भएपछि भोजपुरी फिल्म नेपाली भाषामा डब गरी चल्न छाडेका थिए तर ‘कुन्डली’को रिलिज तयारीसँगै फेरि यो क्रम सुरु हुने छाँट देखिएको छ । भोजपुरी नै सही विराज भट्टका राम्रै व्यापार गर्दै आएका छन् । तर यसपटक अवस्था अलि भिन्न छ ।
किनकी भूकम्पका कारण अझै पनि दर्शक नेपाली फिल्म हेर्न जाने मुडमा छैनन् त्यसमाथि भूकम्पका कारण देशमा त्यतिविधि विनाश हुँदा विराजको अनुपस्थितिलाई पक्कै पनि दर्शकले बिर्सिएका छैनन् । नेपालमा आएको भूकम्पका कारण घर तथा परिवार गुमाएकालाई देश विदेशका स्रष्टाले सहानभूति दिँदा आफ्नै कलाकारको तर्फबाट सम्बोधन नहुनु पक्कै पनि सकारात्मक कुरा होइन । उनका तर्फबाट दर्शकले न सहयोग पाएका छन् न सहानुभूति ।यस्तोमा विराजको भोजपुरी भाषाको नेपाली डब फिल्म अब दर्शकले किन हेर्ने ? दुख पर्दा साथ नदिने भट्टलाई दर्शकले साथ देलान् ?

