गत शुक्रबार मन्त्रिपरिषदको निर्णयबाट चलचित्र बिकास बोर्डको रिक्त पदमा मनोनित भएका राजकुमार राईले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चलचित्र क्षेत्रमा लामो समयदेखिको मुद्वा बनेको बक्स अफिसलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘बक्सअफिस र चलचित्र नीति हाम्रो लामो समयदेखिको मुद्धा रहिआएको थियो । चलचित्र नीति कार्यान्वयन हुन चरणमा छ । अब पालो बक्स अफिसको हो,’ राईले छोटो सम्बोधनका क्रममा भने ।भूकम्प पीडितलाई राहत र फिल्म अभिलेखिकरण पनि आफ्ना महत्वपूर्ण एजेन्डा भित्र रहेको उनले बताए ।
निर्माता संघको समेत अध्यक्ष रहेका राईले हल तथा फिल्म वर्गीकरणको कामलाई पनि प्राथमिकतामा राखेका बताएका छन् ।‘वर्गीकरणको काम मुद्धा परेर रोकिएको थियो । विकास बोर्डको पक्षमा त्यसको फैसला आईसकेको छ । वर्गीकरणको कामलाई तुरुन्त लागू गराउन तर्फ लाग्नेछु,’ राईले भने ।राईले बोर्डले आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्का र दीर्घ साधना सम्मान चाँडै आयोजना गर्ने जनाएका छन् ।
फिल्म ‘संगम’बाट निर्माताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका राईले निर्माता संघको अध्यक्षको रुपमा दुई कार्यकाल बिताउन लागेका छन् । पदभार ग्रहण कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारीले उनको कार्यकालको सफलताको कामना गरेका थिए ।

