Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार र नेताको फुटबल भिडन्तका रोचक दृश्य

फिल्मीखबर, काठमाडौं, 2015/06/06

नयाँ पत्रिका दैनिकको आयोजनामा आज भएको शिर्ष नेता र चर्चित कलाकारविचको फुटबल खेल रोचक थियो ।  विशेषगरि प्रधानमन्त्री सुशिल कोइरालाले बारम्बार आग्रह गर्दा पनि मैदान नछाडेको दृश्य सर्वाधिक रोचक देखियो । युवा नेताहरुले प्रधानमन्त्रीलाई अब भयो भन्दा पनि प्रधानमन्त्रीले खेल्छु भन्दै जिद्दी कसे र २५ मिनेट खेले । बिरामी प्रधानमन्त्रीमा देखिएको जोश सबैको लागि रोचक बन्यो ।



प्रधानमन्त्री खेलिरहदा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेता डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष केपी ओली भने मैदान बाहिर आइसकेका थिए । खेल सुरु भएको केही मिनेटमै प्रधानमन्त्री मैदानमा लडेका थिए । बल छुन खोज्दा उनी लडेका थिए । अभिनेत्री र नेताको भिडन्त पनि रोचक देखियो । दुई पटकसम्म मैदानमा पुगेकी अभिनेत्री प्रियंका कार्की बल भन्दा ज्यादा पछारिइन् । प्रियंका बल हान्ने राम्रै प्रयास गरेकी थिइन् तर तालमेल नमिल्दा उनले खुट्टा उठाएर हानुन्जेलमा बल कटिसकेको हुन्थ्यो ।



मैदानमा प्रवेश गर्दा पूजा शर्मा पनि खतरनाक खेल प्रस्तुत गर्छु झै भनेर गएकी थिइन् । उनले पनि बल भन्दा ज्यादा हावालाई नै लात्ती हानिन् ।  मैदानमा बल छुन नपाउनेमा कोमल ओली पनि अगाडि रहिन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी ओलीलाई बरु बलले झुक्किएर छोयो होला उनले आफैं भने छुन पाइनन् ।  अभिनेत्री करिश्मा मानन्धरले तैबिसेक बललाई लात्ता हान्न भ्याइन् ।  

 



अभिनेत्री झरना थापा पनि मैदानमा रमाइलोको लागि मात्र प्रवेश गरिन्, उनको काबुमा बल खासै आएन । दीपाश्री निरौलाको हकमा पनि यस्तै देखियो । आजको खेलमा मध्य भागबाट खेलेका कलाकार धिरेन शाक्यले पूर्ण समय खेल खेले । उनी मध्य भागमा बसेपछि नेताहरुलाई बल लैजान हम्मे हम्मे परेको थियो । शंकर वीसी, बद्री पंगेनी, सुदर्शन थापा, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको खेल हेर्नलायक थियो ।



नेताको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा र पूर्व अर्थमन्त्री एवं एमाओवादीका नेता बर्षमान पुनको खेल उत्कृष्ट देखियो । यी दुइले एक अर्कासँग खुबै पास मिलाएका थिए । नेकपा माओवादीकी नेतृ पम्फा भुसालले कालो पाइन्ट लगाएरै फुटबल खेलिन् । आफू गोलकिपर बस्दा बल नपाएपछि कलाकार सुनिल थापा कुर्सी ल्याएर गोलपोष्टको छेउमा बसेको दृश्य रमाइलो थियो । त्यतिमात्र होइन सारा खेलाडी जर्सीमा खेलिरहेका बेला सुनिल थापा भने ट्राउजरमा खेल खेल्न पुगेका थिए । फिल्ममा भारी भरकम डाइलग बोल्ने थापाका खुट्टा भने खासै चलेनन् ।

 

Most Visited News (monthly)