विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा अभिनेता राजेश हमालले पत्नी मधुलाई छाडेका छैनन् । अमेरिकामा पनि मधुको साथमा पुगेर आएका हमालले नेपालका पनि विभिन्न स्थानमा एकसाथ लगेकै हुन्छन् । उनै हमाल अब पत्नी मधुको साथमा युएइ पुग्ने भएका छन् । जुलाई १२ मा भुकम्प प्रभावितहरुका लागि आयोजना हुन लागेको च्यारेटी कार्यक्रममा हमाल र मधुको विशेष उपस्थिती हुने आयोजकले बताएको छ ।
उनीहरुको साथमा हाँस्य कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, गायक तिलक बम मल्ल, इन्द्र जिसी, संझना लामिछाने, प्रजिता गेलाल र बीबी मल्ल ठकुरीले आफ्नो विशेष प्रस्तुती दिनेछन् । कार्यक्रमबाट उठेको सम्पुर्ण रकम प्रधानमन्त्री दैविक प्रकोप उद्दार राहत कोषमा जाने भएकाले पनि आयोजकले युएइमा बस्ने नेपालीलाई यो च्यारेटी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
साधारण टिकटलाई २० दिराम र भीआइपीलाई २ सय दिराम तोकिएको छ । कार्यक्रम च्यारेटीका लागि भएकाले हल भाडा पनि निशुल्क पाएको आयोजकले जानकारी दिए । अबुदावीमा हुने कार्यक्रमको आयोजना युइएमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाले गरेका हुन् ।

