फिल्म ‘छ एकान छ’ फेरि चलाएर भुकम्प पीडितका लागि घर बनाइदिने निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको योजनामा धक्का लागेको छ । शुक्रबारबाट देशभरका हलमा पुन प्रदर्शनमा ल्याइएको फिल्म ‘छ एकान छ’ को व्यापार कमजोर देखिएको छ ।
काठमाण्डौको जय नेपाल र कुमारी हलबाट फिल्म दुई दिनमा नै उत्रिएको हल संचालकले नै बताएका छन् । निर्माता दीपकराज गिरीले बेलुकीको शो मागेका थिए । हलले पनि त्यसै अनुसार शो दिएको थियो । तर, दर्शक दुई दिनसम्म नआएपछि आजबाट फिल्म उतारिएको हो । राजधानीका बाँकी हलमा पनि दर्शक फिल्म हेर्न आएका छैनन् । काठमाण्डौ बाहिर पनि फिल्मको व्यापार नभएको वितरक एफडी कम्पनीले बताएको छ ।
करिब डेढ बर्ष अगाडि फिल्मले राम्रो व्यापार गरेको थियो । निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले नै बनाएको नयाँ फिल्म ‘वडा नम्बर छ’ पनि तयारी अवस्थामा छ । तर, भुकम्प पीडितका लागि सहयोग गर्दा पुरानो भन्दा नयाँ फिल्म चलाउँदा राम्रो हुने भन्दै संचारमाध्यममा समाचार आएका थिए । यो समाचार आएपछि निर्माता तथा कलाकार दीपकराजले पत्रकारलाई कुकुर र आफूलाई हात्तीको संज्ञा दिएका थिए ।

