नायिका, निर्मात्री एवं निर्देशक रेखा थापाले आफ्नो फाउन्डेशन बाट थप तीन जना भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेकी छन् । रेखा थापा फाउन्डेशन मार्फत भूकम्प प्रभावित तीन जना सञ्चारकर्मीहरु विजयरत्न तुलाधर, कुँवेर गिरी र शारदा थापालाई ३०, ३० हजार नगद रकम बिहिबार हस्तान्तरण गरियो ।
राजधानीमा एक अनौपचारिक कार्यक्रममा भूकम्पले गर्दा घर गुमाएका तीन जना सञ्चारकर्मीलाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको रोहवरमा फाउन्डेशनका महासचिव सविर श्रेष्ठ र अपकमिङ एक्टर आभाष अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग प्राप्त गरेपछि भूकम्प प्रभावित सञ्चारकर्मी त्रयले नायिका रेखा थापा र उनको फाउन्डेशन प्रति कृतज्ञता प्रकट गरे । नायिका थापा भने भूकम्प प्रभावितको सहयोगार्थ राहत संकलनका लागि हाल अमेरिकामा छन् ।
रेखाले यसै साता अर्का भूकम्प प्रभावित सञ्चारकर्मी डिपी शाह चक्रवर्तीलाई पनि ३० हजार नगद सहयोग गरेकी थिइन् भने चलचित्र प्राविधिक संघलाई आफ्ना भूकम्प प्रभावित सदस्यको सहयोगार्थ एक लाख नगद रुपैयाँ सहगोग गरेकी छन् ।

