निर्माता तथा निर्देशक आकाश अधिकारीले ६४ लाख बराबरको राहत बाँडेको बाँड्ने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो रकम बराबरको राहत सामाग्री भूकम्प प्रभावित विभिन्न ठाउँमा बाँड्ने जानकारी गराएका हुन् । सो मध्ये २४ लाख बराबरको राहत उनले बाँडिसकेका छन् भने बाँकी ४० लाख बराबरको सामान बाँड्ने क्रममा रहेका छन् । उनले ‘आशाको ज्योति नेपाल’ नामको गैरसरकारी संस्था मार्फत राहत वितरण गरिरहेका हुन् ।
‘हाम्रो संस्थाले खोकना,काभ्रेको देउपुर, धादिङ , लमजुङको बेसीसहर, सिन्धुपाल्चोकको जरायाटार र काठमाडौंको रामकोटमा राहत वितरण गरिएको थियो भने काभ्रे र ललितपुरमा स्वास्थ्य शिविर समेत सञ्चालनमा ल्याईएको थियो । देश विपत्तिमा परेको बेला हाम्रो सहयोगले पक्कै पनि केही पीडितको मुहारमा हाँसो छर्न सकेको विश्वास लिएका छौं,’ आकाशले भने ।
आकाशका अनुसार चीनको पोसिबल फिल्म प्रोडक्सनले नेपालका भूकम्प पीडितका लागि भनेर १ सय २२ थान टेन्ट, २ सय थान ब्ल्याङकेट र ३ सय थान थान प्लास्टिक प्याड पठाईदिएको छ । आकाश अधिकारीकै फिल्म कम्पनी स्काई मुभिजको पहलमा आएको राहत सामाग्री ४० लाख बराबरको रहेको आकाशले जनाएका हुन् ।
उनले समिति गठन गरी वास्तविक पीडित पत्ता लगाई चीनबाट आएको राहत वितरण गर्ने जनाए । बिहीबार नै समिति बनेको समेत जानकारी गराईयो । आकाश अधिकारीकै संयोजकत्वमा बनेको सममितिमा प्रकाश सुवेदी उपसंयोजक रहेका छन् ।
आशाको ज्योति नेपालले आइ टु वि, शनि सगरमाथा समाज, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया, ग्लोबल रिच इन्टरनेसनल, आइब्रो प्लस, मुनलाइट फार्मेसी, हेल्पिङ ह्याण्ड परासी आदिको सहकार्यमा राहत संकलन तथा वितरण गरेको हो ।

