देशका विभिन्न ६ स्थानमा फिल्म अधकट्टीको च्यारेटी गरिने भएको छ । भुकम्पबाट पीडित बनेका चलचित्र प्राविधिकहरुको सहयोगका लागि फिल्मको च्यारेटी गर्न लागिएको हो । निर्माता प्रदिप कुमार उदयका अनुसार काठमाण्डौको कुमारी हलमा असार १ गते च्यारेटी शो हुनेछ ।
बेलुकी ६ बजेबाट हुने शोमा कुमारीका दुईवटा पर्दामा नै फिल्म देखाइनेछ । करिब ५ सय ४७ सिट क्षमता रहेकाले पनि एक हजार पाँच सय टिकट दर राखिएर टिकट विक्री गर्ने काम भैरहेको छ । आइएएफ नाम गरेको संस्था र अभिनेत्री ऋचा शर्माको संयोजनमा काठमाण्डौमा च्यारेटी शो गर्न लागिएको हो ।
काठमाण्डौ बाहिरका विभिन्न ५ शहरमा भने यसपछि च्यारेटी शो हुनेछ । वैशाख १२ गते गएको भुकम्पका कारण फिल्ममा काम गर्ने प्राविधिकहरु मर्कामा छन् । अहिलेसम्म करिब ४० जना प्राविधिकले सिफारिस सहित घर भत्किएको निवेदन दिएको चलचित्र प्राविधिक संघले बताएको छ । सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो चलचित्र पूर्णतया कमेडी बिषयमा तयार भएको छ ।

