अभिनेत्री प्रियंका कार्की भूकम्प गएपछि बदलिएकी छिन् । वैशाख १२ अघिकी प्रियंका र त्यसपछिकी प्रियंकामा ठूलो परिवर्तन आएको छ । भूकम्प आएको आज एक महिना भयो । एक महिना भएको दिनलाई संझदै प्रियंकाले आफू बदलिएको फेसबुकमार्फत लेखेकी छिन् । उनले जीवनको परिभाषा नै बदलिएको लेखेकी हुन् ।
यो दुनियाँमा आफ्नो परिवार भन्दा ठूलो कोही पनि नहुने उनको भनाई छ । जीवनको केही पनि भर हुँदैन, यसैले दिल खोलेर हास्नु पर्छ भन्ने आफूले सुनेपनि बल्ल वुझेको उनले लेखेकी छिन् । आफूले ऐना हेर्दा १२ गते अगाडिकी प्रियंका नदेखेको उनको भनाई छ । अहिले देखेकी प्रियंकाको मनमा लोभ, रिस, घमन्ड, जलन केही पनि नभएको उनले बताएकी हुन् ।
मानिस जन्मदा पनि नाङ्गै जन्मने र मर्दा पनि नाङ्गै जाने भएकाले रिसको अर्थ नभएको प्रियंकाले स्टाटसमा लेखेकी छिन् । धनी, गरिब जे भएपनि खुल्ला आकाश भन्दा प्यारो घर केही नभएकाले मनमा लोभ पाल्नुको अर्थ नभएको यी अभिनेत्रीको भनाई छ । यो शोकलाई शक्तीमा बदलेर अगाडि बढ्न पनि उनले आग्रह गरेकी छिन् ।

