मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्थानीयले फिल्मकर्मीलाई भने 'हामी ऋणी छौं'

फिल्मीखबर, काठमाडौं, 2015/05/20

‘हामी सबैका लागि’ नाममा एकत्रित भएका फिल्मकर्मीले ‘प्रोजेक्ट रुफ’ अभियान अन्तर्गत काभ्रेको रामपुर डाँडामा ४० वटा घर बनाई स्थानिय बासिन्दालाई हस्तान्तरण गरेका छन् ।  बुधबार फिल्मकर्मीले बनेका घरलाई नेपाली फिल्मसँग जोड्दै स्थानीयलाई हस्तान्तरण गरे । 

 

फिल्मकर्मीहरु भुवन केसी, दिलिप रायमाझी, अनमोल केसी, मेलिना मानन्धर, नन्दिता केसी, केकी अधिकारी, बेनिशा हमाल, यसराज गराच, निराजन प्रधान, वर्षा सिवाकोटी, सुरक्षा पन्त, स्वतन्त्र प्रताप शाह, बसन्त सापकोटा, अजय पोखरेल आदिले बनेका घर स्थानीयलाई हस्तान्तरण गरेका थिए । यो क्रममा कलाकारले आफूले बनाएका घरलाई नेपाली फिल्मको इतिहाससँग जोड्दै हरेक घरलाई नेपाली फिल्मको नाम दिएका थिए ।


‘आमा’ नामबाट सुरु भएको नेपाली फिल्मको इतिहासलाई पछ्याउँदै फिल्मकर्मीले फिल्म निर्माणको क्रम अनुसार घरको नामाकरण गरेका थिए ।अभियानका संयोजक सुरेश दर्पण पोखरेलले स्थानीयको मनमा नेपाली फिल्मको सम्बन्ध गाढा बनाउन यस्तो गरिएको बताए ।‘फिल्मकर्मी र बासिन्दा दुवैको लागि यो ठाउँ सम्झनाको सेतु बनोस् भन्ने लागेर हामीले बनाएका घरलाई नेपाली फिल्मको नाम दिएका हौं । उहाँहरुले जहिले जहिले यो घर हेर्नुहुनेछ, फिल्मकर्मीले गरेको यो योगदानलाई सम्झिनुहुनेछ,’पोखरेलले भने ।
बनेका घरलाई  पहिलो नेपाली फिल्म ‘आमा’ देखि पछिल्लो समय बनेको ‘सानो संसार’सम्मको नाम दिईएको थियो ।

 


राहत वितरणका क्रममा कलाकारले पीडितले चाऊचाऊ चिउरा भन्दा पनि बासको ज्यादा चिन्ता गरेको पाएपछि एउटा गाउँलाई अस्थायी नै भएपनि घर बनाईदिने अभियान सुरु गरेका थिए । सो क्रममा कलाकारले आफ्नै गोजीबाट पैसा निकाल्दै अभियानलाई पूर्णता दिएका थिए । सो क्रममा कसैले एक लाख त कसैले दस हजार दिंदै स्रोत भेला गरेका थिए ।
अभियानकी सहसंयोजक केकी अधिकारीले पीडितका निराश मनमा हौसला थप्न आफूहरुको अभियान सहायक हुने अपेक्षा गरिन् ।

 

‘यो भूकम्पले दिएको आँशुलाई हाँसोमा परिणत गर्ने प्रयत्न हो । पीडितलाई केही सहयोग गर्न सकेकोमा हामीलाई आत्मसन्तुष्टि मिलेको छ,’ केकीले भनिन् ।त्यसैगरी अभियानकै लागि भनेर ६१ ह्जार प्रदान गरेका अनमोल केसीले कलाकारले बनाएका घर हामीले चाह्यौं भने आफैं केही गर्न सक्छौं भन्ने कुराको उदाहरण भएको बताए ।आफ्नै हिट फिल्मको नामबाट बनेको घर स्थानीय बासिन्दालाई हस्तान्तरण गर्दा दिलिप रायमाझीको अनुहारमा दोहोरो खुशी थियो । अभियानका लागि भनेर ५१ ह्जार प्रदान गरेको दिलिपले ‘दर्पणछायाँ’ नाममा बनेको घर हस्तान्तरण गर्न पाउँदा यस्तो खुशीको अनुभव गरेका थिए ।घर हस्तान्तरणका बखत फिल्मकर्मीले हरेक परिवारलाई चामल, दाल,नून, ब्ल्यांकेट आदि पनि वितरण गरेका थिए ।

 


कलाकारको सहयोगबाट भावुक बनेका बासिन्दाले विदाका बखत बारम्बार फेरि फर्केर आउन आग्रह गरेका थिए । स्थानीय बासिन्दा श्याम नेपालीले फिल्मकर्मीले तिर्न नसकेको गुन लगाएको बताए ।‘पर्दाभित्र धेरै पटक अरुलाई सहयोग गरेको देखेका थियौं । आज आफैंलाई गरेको देख्न पाईयो । उहाँहरुको ऋणी छौं,’ नेपालीले भने ।