अभिनेता राजेश हमाललाई नेपाल चलचित्र प्राविधीक संघले महानायकको उपाधी दिएको हो । नेफ्टा अवार्डको समयमा हमाललाई प्राविधिकहरुको संस्थाले महानायक उपाधी दियो । यसपछि उनलाई सबैले महानायक भनेर सम्बोधन गर्छन् र चिन्छन् पनि । नेपाली फिल्ममा धनी कलाकारको रुपमा चिनिएका हमालले विपत्तको समयमा तीनै प्राविधीकलाई सहयोग त के, सोध्दा पनि सोधेका छैनन् ।
हमालले कहिले १ अर्ब ल्याएको त कहिले डेढ अर्बको औषधी ल्याएको समाचार आउँछन् । तर, ती झुटा खबरमा पनि हमालले खासै मुख खोलेको पाइदैन । टुडिखेलमा कुचो लिएर सफा गरेको वा भूकम्पको भिडियोमा मोडलिङ गरेको देखिन्छ हमाललाई । तर, तीनै हमालले आजसम्म प्राविधिकहरुको समस्याका बारेमा चासो देखाएका छैनन् । प्राविधिक संघका अध्यक्ष मनोज केसीले जनाए अनुसार ३१० जना प्राविधिकको घर बस्न नहुने गरि भत्किएको छ ।
उनीहरुको अवस्थालाई ख्याल गरी केही फिल्मकर्मीले राहत प्रदान गरिरहेका छन् । तर, प्राविधिकहरुबाट नै महानायकको सम्मान पाएका हमालले यस बारेमा चासो जनाएका छैनन् । फिल्मीकर्मीले नै सहयोग नगरेको गुनासो प्राविधीक संघले गरिरहेको छ । प्राविधिक संघबाट नै सदाबहार नायिकाको उपाधी पाएकी करिश्माले राहत प्रदान गरेकी छिन् । यसपछि, आकाश अधिकारी, उद्धव पौडेल लगायतका केही फिल्मीकर्मीले राहत वितरण गरिसकेका छन् । तर, जसले आफूलाई महानायक बनायो, उसैको चिन्ता गरेका छैनन् राजेश हमालले ।