Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका भूकम्प पीडितलाई सघाउँदै अन्तराष्ट्रिय सेलिब्रिटी

फिल्मीखबर, काठमाडौं, 2015/05/15

महाभूकम्पबाट प्रभावित नेपाली बालबालिका र उनीहरुका परिवारलाई सहयोग गर्न विश्वका विभिन्न सेलिब्रेटीले आह्वान गरेका छन् । सहयोगको अपिल गर्नेमा बलिउड अभिनेतादेखि विश्वप्रसिद्ध गायिकाहरु समेत छन् । कोलम्बियन गायिका शकिराले गत वैशाख १२ मा गएको महाभूकम्पको दोस्रो दिन आधिकारिक ट्वीटरमार्फत् सबैसँग सहयोगको अपिल गरिन् ।

 

युनिसेफकी सद्भावना दूत उनले युनिसेफ मार्फत् सहयोगका लागि आह्वान गरेकी थिइन् । ‘युनिसेफले भूकम्प प्रभावित नेपालका बालबालिका र उनीहरुको परिवारलाई सहयोग गरिरहेको छ । सबैले युनिसेफमार्फत्सहयोग गर्न सक्नुहुनेछ,’ उनले ट्वीटरमा भनेकी थिइन् ।

 

त्यस्तै गत असारमा नेपाल आएका युनिसेफका दक्षिण एसियाली सद्भावना दूत बलिउड अभिनेता आमिर खानले समेत केही दिनअघि ट्वीट गर्दै नेपालका बालबालिकाको संरक्षणका लागि आह्वान गरेका थिए ।‘मैले हालसालै नेपाल भम्रण गरेको थिएँ । बिनाशकारी भूकम्पले मर्ने मानिसको  संख्या बढ्दै गएको खबरले चिन्तित बनाएको  छ । कृपया पीडित बालबालिकालाई सहयोग गर्नुहोस्,’ उनले ट्वीटमा भनेका थिए ।


नेपालमा आएको भूकम्पले आहत हुनेमा ब्रिटिस गायिका विभेर्ली नाइट, सर मिक ज्यागर  र संगीतकार रोनी उड पनि पर्छन् । उनीहरुले नेपालमा आएको विनासकारी भूकम्पपीडितहरुलाई सहयोग गर्न च्यारिटी गीत रेकर्ड गराएका छन् । कार दुर्घटनामा निधन भएका हलिउड अभिनेता पावल वाकरका भाइ तथा व्यापारी कोडी वाकरले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न उनका सहयोगीलाई नेपाल पठाएका छन् ।

 

त्यस्तै अभिनेता अमिताभ बच्चनले फेसबुकले सञ्चालन गरेको नेपालमा भूकम्पपीडितलाई सहयोग गर्न ल्याएको अभियानमा साथ दिन सबैमा आग्रह गरेका छन् । ‘समय बित्छ तर नेपाल र भारतको अन्य भागमा भूकम्पबाट पीडित बनेकाहरुसँग विचार र प्रार्थना रहन्छ,’ उनले ट्वीट गर्दै नेपालका भूकम्प पीडितप्रति आफ्नो ऐक्यवद्धता देखाएका थिए । मंगलबार नेपाल र भारतमा एकैसाथ गएको दोस्रो भूकम्पपछि उनले तत्काल सहयोगका लागि सबैमा अपिल गरेका थिए ।

 


नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले भूकम्पपीडितका लागि राहत संकलन गर्न शिक्षा नेपाल फाउन्डेसनसँग सहकार्य गरेर आर्थिक सहयोग जुटाइरहेका छन ्। ‘संसारभरका मानिसले नेपालका भूकम्प पीडितलाई मेरो वेबसाइटबाट प्रत्यक्ष सहयोग गर्न सक्नेछन् । त्यसबाहेक शिक्षा नेपाल फाउन्डेसन र क्राउडराइज डटकममार्फत् साथ दिन सक्नेछन्,’ उनले ट्वीटमा उल्लेख गरेका छन् ।अन्तर्राष्ट्रिय सुपर मोडल किम कार्देसियनले डिजाइनर प्रबल गुरुङको अभियानमा साथ दिन सबैलाई आग्रह गरेकी छिन् ।

हलिउड अभिनेत्री सारा जेसिका पार्करले जतिसक्दो चाँडो सामान्य जीवनमा फर्कन अनुरोध गरेकी छिन् । डिजाइनर गुरुङसँगै एक फेसन शोमा देखिएकी उनले भूकम्प पीडितलाई धैर्य गर्न समेत आग्रह गरेकी थिइन् ।  त्यस्तै राहल जो र नाओमी क्याम्पबेल लगायतले उनको अभियानमा साथ दिँदै सहयोगको अपिल गरेका थिए ।  


नेपालमा कन्सर्ट गरेका गायक ब्रायन एडम्स्ले पनि नेपालीहरुलाई सहयोग गर्न अपिल गरेका छन् । उनले  आधिकारिक वेबसाइटमार्फत् नेपालका भूकम्पपीडितको सहयोगमा जुट्न अपिल गरेका हुन् । ‘नेपालमा आएको प्राकृतिक क्षतिको घडीमा हामीहरु सबै जुटेर पीडामा रहेका नेपालीहरुलाई सहयोग गर्न लागि परौं । सबैको सानो सहयोगले भूकम्प पीडितलाई ठूलो राहत मिल्नेछ,’ एडम्सको आधिकारिक वेबसाइटमा भनिएको छ ।

Most Visited News (monthly)