विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री कट्रिना कैफले पहिलो पल्ट सहभागिता जनाएकी छिन् । कान्सको ६८ औं संस्करणमा सहभागिता जनाउने कट्रिना भारतको तर्फबाट कान्समा सहभागिता जनाउने तेस्रो अभिनेत्री बनेकी छिन् । कान्समा यसअघि ऐशवर्या राय र सोनम कपुरले मात्र सहभागिता जनाउँदै आएका थिए ।
कान्सको आधिकारिक ब्युटी ब्रान्ड लोरियलका भारतस्थित ब्रान्ड एम्बेस्डर तीनै जनाले सोही हैसियतमा कान्समा सहभागिता जनाउँदै आएका हुन् । कट्रिनाले पनि यो साल सोही ब्रान्डको ब्रान्ड एम्बेस्डरको रुपमा कान्समा सहभागिता जनाउने मौका पाएकी हुन् । कान्स फ्रान्समा बुधबारदेखि सुरु भएको छ ।
फ्रान्सको दक्षिणी सहर कान्समा सुरु भएको १२ दिने महोत्सवको उद्घाटन फ्रान्सेली फिल्म ‘ला टेटे हाउटे (स्ट्यान्डिङ टल)’को प्रदर्शनीबाट गरियो । फ्रान्सको अपरिपक्व न्याय प्रणालीको कथा रहेको र इम्मानुएले बर्कोटद्वारा निर्देशित फिल्ममा क्याथरिन डेनभेको मुख्य भूमिका छ ।फेस्टिभल सुरु भएको घोषणा चाहिँ गत वर्ष कान्समा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल जुलियाने मुरेले गरेकी थिइन् । मुरेले गत वर्ष ‘म्याप्स टु दि स्टार्स्’ फिल्मबाट अवार्ड जितेकी थिइन् । गत वर्ष अनुपस्थित उनले यसैपालि फ्रान्सेली अभिनेता लाम्बर्ट विल्सनको हातबाट अवार्ड ग्रहण गरिन् ।

संसारभरका प्रतिभाशाली फिल्मकर्मीहरुका फिल्म प्रदर्शन हुने कान्स फेस्टिभलमा एकसे एक सेलिब्रिटीहरुको रेड कार्पेट सहभागिताले अगल्लै चर्चा पाउने गर्छ । यसपालि केट ब्ल्यान्चेट, म्याथ्यु म्याक कनवे, चार्लिज थेरोन, नाटाली पोर्टम्यान, माइकल फासबेन्डर लगायत रेड कार्पेटमा हिंडेका थिए ।
यस पालिको फेस्टिभलले दिवंगत महान फिल्मकर्मी इन्ग्रिड बर्गम्यानप्रति सम्मान अर्पण गरेको छ । बर्गम्यानको जन्मशताब्दीको उपलक्ष्यमा यसो गरिएको हो । फेस्टिभलको फिचर फिल्मतर्पmको मुख्य प्रतिस्पर्धामा यसपालि अमेरिकी निर्देशक दाजुभाइ जोयल तथा इथान कोयनले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नेछन् । सियना मिलर र जेक जिलनहल पनि उक्त निर्णायक मण्डलमा सदस्य रहनेछन् । फेस्टिभलका मुख्य प्रतिस्पर्धी १९ मध्ये पाँच फिल्म फ्रान्सकै छन् ।

