भूकम्प गएपछि यसबाट पीडित बनेकाहरुलाई उद्धार गर्न र राहत वितरणका लागि नेपाली फिल्मका अधिकांश कलाकार लागिपरे । कलाकारहरुले आफूले सकेको स्थानबाट यो विपत्तमा सहयोग पु¥याए र पु¥याइरहेका छन् ।
तर, केही कलाकार भने यो समयमा पनि मौन देखिए । उनीहरुको कुनै पनि भूमिका यो समयमा देखिएन । झोला फिल्मबाट चर्चामा आएकी अभिनेत्री गरिमा पन्तलाई यो समयमा देखिएन । गरिमा नेपालमा छिन् या देशबाहिर अत्तोपत्तो भएन । देश बाहिर गएका कलाकार पनि भूकम्प आएपछि सहयोगका लागि भन्दै नेपाल आए । तर, अभिनेत्री गरिमा पन्तलाई भने फिल्मीकर्मीको टोलीदेखि कतैपनि देखिएन ।
नेपाली फिल्म क्षेत्रमा एउटा चर्चा र उचाई बनाएकी गरिमा आखिर किन यसरी हराइन्, यो उनले नै जान्ने कुरा हो । अभिनेत्री संचिता लुइटेल र अभिनेता निखिल उप्रेतीको सक्रियता पनि यो समयमा खासै देखिएन । कलाकारहरुले कुनै टिम बनाएर होस् या आफ्नै एक तबरले भूकम्प पीडितको दुखमा साथ दिन खोजे ।
अभिनेता राजेश हमाल भूकम्प गएको लामो समयपछि नेपाल फर्किएर राहत वितरणमा लागेका छन् । अभिनेत्री नन्दिता केसीलाई भूकम्पबाट निधन भएकाहरुलाई संझदै फिल्मीकर्मीले मैनवत्ती बालेर संझदै गर्दाको कार्यक्रममा मात्र देखियो ।यो समयमा सबैभन्दा धेरै सक्रिय अभिनेत्रीहरु केकी अधिकारी, करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, निशा अधिकारी, नम्रता श्रेष्ठ, प्रियंका कार्कीलाई देखियो । अभिनेता तथा अन्य कलाकर्मीको सक्रियता पनि कम देखिएन ।

