राजेश हमालले नेदरल्याण्डमा भुकम्प पीडितका लागि एक अर्ब संकलन गरेको खबर आगो झैं फैलियो । सामाजिक सञ्जालमा उनका प्रशंसा गर्नेहरुको लर्को देखियो । सहयोग गरेको समाचार सेयर गर्दै मानिसहरुले महानायक भनेको महानायक नै हो भन्ने स्टयाटस लेखे ।
तर समाचार व्यापक भएसँगै नेदरल्याण्डबाट खण्डनको शृंखला सुरु भयो । नेदरल्याण्ड बसेका नेपालीले आफूहरुले गरेको अभियानलाई हमालको उपस्थितिले ओझलमा पारेको गुनासो गरे समाचारमा आएको रकम हमालले नभई नेदरल्याण्डकै एक संस्थाले जम्मा गरेको पुष्टि गरे ।
नेदरल्याण्डमा रहेका हमाल दुई दिन अघि काठमाडौं आईसकेका छन् । तर आफ्नो नाम जोडिएको समाचारमा खण्डनको शृंखला चलिरहँदा हमाल भने मौन छन् । उनले नत आफूले जम्मा गरेको भनेको रकम मैंले जम्मा गरेको होइन भनेर खुलेर भन्न सकेका छन् नत मैंले नै गरेको भनेर दाबी गरेका छन् ।
आफ्नो बारेमा यसरी दुई थरि समाचार आईरहँदा हमालले सत्य कुरा के हो बाहिर ल्याउन पर्दैन ? आफ्ना बारेमा समाचार आउँदा ज्यादाजसो समय मौनता साँधेर नै बस्ने गरेका छन् । तर यस पटक आएको समाचार व्यक्तिगत मात्र छैन धेरै नेपालीको भावना जोडिएको छ । आफ्नो नामसँग जोडिएर थरिथरिका समाचार आईरहँदा सत्य के हो बोल्ने हो कि?

