आफ्नो गोजीबाट सुको ननिकाल्ने तर अर्काको सहयोगलाई आफूले दिएको झैं गरी बाँड्दै सेल्फी खिचाउँदै गरेको भनेर कलाकारहरुको आलोचना भईरहेका बेला केही कलाकारले भने आफैं रकम जुटाउँदै उद्धार कोष खडा गरेका छन् । भुकम्पमा परेका आम जनतालाई पुनस्र्थापनाका लागि मद्धत गर्ने उद्धेश्यका साथ सुरु भएको अभियानमा शनिबार सम्म ७ लाख ५० हजार जम्मा भएको संयोजक सुरेश दर्पण पोखरेलले जानकारी दिएका छन् ।
'वि फर अल' नाराका साथ सुरु भएको अभियानमा नेपाली युवा कलाकारको संलग्नता रहेको छ । समूहमा जीवन लुईंटेल, मेलिना मानन्धर, केकी अधिकारी, बेनिशा हमाल, यसराज गराच, वर्षा सिवाकोटी, हसन खान, प्रदिप बाँस्तोला, निराजन प्रधान,प्रविन श्रेष्ठ, अजय पोखरेल, चाँदनी शर्मा आदिले सहयोग गरेका छन् ।
सहयोग रकम आउने क्रम जारी छ र आइतबारसम्म दस लाख पुग्ने अनुमान छ ।
समाज बदल्नुछ सुरुवात आफैंबाट गरौं भन्ने मान्यतालाई आत्मसात गर्दै कलाकारले आफैंबाट रकम जोहो गर्ने प्रक्रियाको थालनी गरेका हुन् । समूहमा निर्माता दिनेश पोखरेलले १ लाख १ हजार सहयोग गरेका छन् भने अर्का निर्माता विपिन गुरुंगले पनि सोही बराबरको रकम प्रदान गर्ने घोषणा गरेका छन् । यसैगरी निर्माता पुष्कर पन्तले ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् । अभिनेता जीवन लुईंटेलले यसअघि नै ५१ ह्जार सहयोग गर्ने घोषणा गरेका थिए । कलाकारले आफ्नो गच्छे अनुसार ३१ ह्जारदेखि ९ हजार सम्म सहयोग गरेका छन् ।
क्ुल रकम जम्मा भएसँगै कुन ठाउँमा कसरी खर्च गर्ने भन्ने तय गरिने संयोजक पोखरेलले बताए ।

