आ आफ्नै क्याम्पमा देखिएको नेपाली फिल्म क्षेत्र भूकम्पबाट प्रभावितहरुको राहत वितरणमा पनि विभाजित देखिएको छ । विशेषगरि, पर्दामा देखिने कलाकारहरुको टोली आ आफ्नै समूह बनाएर विभाजित छ ।
चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलको संयोजकत्वमा बनाइएको एक टोलीमा अभिनेत्री, अभिनेता र हाँस्य कलाकार देखिएका छन् । यो टोलीमा केकी अधिकारी, बर्षा सिवाकोटी, झरना थापा, सुनिल कुमार थापा लगायत देखिएका छन् । हुनत, सुरेशको टिमले पहिलो दिनमा ३ ग्रुप बनाएर राहत वितरण गरेपनि दोश्रो दिनदेखि यो टोलीका केही कलाकर्मी अलग देखिएका छन् ।
अभिनेत्री करिश्मा मानन्धर सुरुवातको दिनमा सुरेशको टोलीमा देखिएपनि अहिले उनी आफ्नै तबरले राहत वितरणमा सक्रिय छिन् । अभिनेत्री रेखा थापा त कहिले पनि फिल्मीकर्मीको साथमा देखिइनन् । उनी र निर्देशक हिमग्याप लामा एकसाथ सुरुवातदेखि नै लागिरहेका छन् । तर, रेखा फिल्मीकर्मीको ग्रुपमा देखिइनन् ।
अभिनेत्री नम्रता श्रेष्ठ पनि फिल्मीकर्मीको समुहमा देखिएकी छैनन् । उनले पनि आफ्नै तबरले राहत वितरण गरिरहेकी छिन् । अभिनेत्री निशा अधिकारी पनि कथा यस्तै छ । उनी त आजसम्म फिल्मीकर्मीको गु्रुपमा नै देखिएकी छैनन् । अभिनेता आर्यन सिग्देल एक दिन सिन्धुपाल्चोक पुग्नु अघि खासै सक्रिय छैनन् । अभिनेता जिवन लुइटेल अमेरिकाबाट आएपछि सुरेशको संयोजकत्वमा गठित टोलीमा देखिएका छन् । यो टोलीमा दीलिप रायमाझी पनि छन् ।
हाँस्य कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा लगायतको टोली सुरुवातमा विकास बोर्डमा बसेर फिल्मीकर्मीले गठन गरेको टोलीमा देखिएपनि पछि आफै राहत वितरणमा सक्रिय देखिए ।यसरी हेर्दा कलाकर्मीहरु आ आफ्नै तबरले अलग अलग तबरले राहत वितरणमा सक्रिय छन् । तर, जसले जसरी बाँडेपनि राहत पीडित भएको स्थानमा पुगेको छ । तर, यस्तो कुरामा एकजुट भएर हिडिदिने हो भने फिल्मीकर्मीलाई जनताले अझ नजिकबाट नियाल्ने थिए ।

