वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण लाखौ नेपाली विस्थापित भएका छन् । विस्थापित हुनेहरुको भिडमा नेपाली फिल्मीकर्मी पनि पर्छन् । जसले आफ्नो घरबार र आफन्त गुमाएका छन् ।भूकम्पबाट प्रभावित हुने फिल्मीकर्मीको पूर्ण सूची आउन सकेको छैन । आ आफ्ना सदस्यहरुको बारेमा संघसंस्थाले तथ्यांक तयार पार्न नसक्दा प्रभावितहरुलाई झनै मर्का परेको छ ।
नेपाल चलचित्र प्राविधिक संघले भूकम्पबाट प्रभावितहरुको आँकडा तयार गरेको छ । छायांकार, सम्पादक, लाइटम्यान, सह छायांकार, ड्रेस म्यान लगायत गरि करिब ९७ जनाको घर ध्वस्त भएको प्राविधिक संघले जनाएको छ । महासचिव अनन्त तिमिल्सिनाले दिएको जानकारी अनुसार घर ध्वस्त हुने अधिकांश प्राविधिक नुवाकोटका छन् । यसपछि सिन्धुपाल्चोक, काभ्रेका प्राविधिकहरुको पनि घर ध्वस्त भएको छ ।
तर, उनीहरुलाई आजसम्म राहतका लागि कतैबाट पनि पहल भएको छैन । फिल्मीकर्मीहरुले राहत वितरण गर्ने भन्दै विभिन्न स्थानमा पुगेपनि आफ्नै सहकर्मीहरुलाई भने हेर्न सकेका छैनन् ।