भूकम्प प्रभावित क्षेत्रमा खाद्यन्न पुगेपनि औषधी र जनचेतनाको अभाव छ । यही अभावलाई पुर्ती गर्न कलाकारको टोली अगाडि सरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र डब्लू एच ओसँग मिलेर फिल्मीकर्मीको टोलीले काठमाण्डौ, भक्तपुर र ललितपुरमा औषधी वितरण गरेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रमा सरसफाई, सफा पानीको आवश्यकता देखिएको छ । जसका कारण पनि फिल्मीकर्मीको टोलीले ३ टोली बनाएर काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पुगेका थिए ।
निर्देशक सुरेश दर्पण पोख्रेल, निर्माता तथा गितकार बाबुराम दाहाल र निर्माता केशव भट्टराइले टोली संयोजन गरेर विभिन्न स्थानमा पुगेका थिए । भक्तपुरमा पुगेका कलाकारहरुलाई भूकम्प प्रभावितहरुले आफ्नो समस्या पनि सुनाएका थिए । फिल्मीकर्मीले उनीहरुलाई केही खाद्यन्नको साथमा औषधी, बच्चा र महिलाका लागि आवश्यक सामाग्री वितरण गरे ।
करिब ८ दर्जन फिल्मीकर्मी यो टोलीमा सहभागी भए । कलाकर्मीलाई देख्दा भूकम्पको पीडाले निराश भएका जनतामा खुशी देखिएको थियो । उनीहरुले कलाकारसँग आफ्नो समस्या बताउँदै सहयोग गर्न आग्रह गरे ।
भक्तपुरमा पुगेका अभिनेत्रीहरु झरना थापा, केकी अधिकारी, दिपा श्री निरौलाले जनतालाई चेतना सगाउँदै सफा भएर बस्न र अरुलाई पनि सफा राख्न आग्रह गरे । कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले जिवनमा आएको यस्तो समस्याबाट निराश नहुन र अब यसलाई सामाना गर्न आग्रह गरे ।
यस्तै, अभिनेत्रीहरु करिश्मा मानन्धर, अनु शाह, शिल्पा पोख्रेल, अभिनेताहरु भूवन केसी, दिलिप रायमाझी, रमेश उप्रेती लगायतले पनि स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । फिल्मीकर्मीको टोलीले भोली पनि यो अभियानलाई जारी राख्नेछ । सोमबारबाट भने काठमाण्डौ बाहिर जाने तयारी गरिएको छ ।