सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागिएको दोश्रो फिल्म 'क्लासिक'ले अफिसियल ब्रान्डिङको सुरुवात गरेको छ । फिल्म निर्माण कम्पनीले 'क्लोथ्स् नेपाल' नामक वर्डड्रप संस्थामार्फत अफिसियल ब्रान्डिङको सुरुवात गरेको हो ।

अनलाइनमार्फत आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै आएको 'क्लोथ्स् नेपाल'ले 'क्लासिक' निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पोसाकको ब्यबस्थापन गर्नेछ । बिहिबार राजधानीमा यहि फिल्मका 'क्लासिक'का प्रमुख पात्रद्वय आर्यन सिग्देल र नम्रता श्रेष्ठले रिबन काटी `क्लोथ्स् नेपाल`को उद्घाटन गरे ।
संचालनमा ल्याइएको स्टोरमा युवापुस्ताको रोजाईका सम्पूर्ण ड्रेस सामग्री उपलब्ध हुने 'क्लोथ्स् नेपालका संचालन रघु थापाले जानकारी दिएका छन् । 'क्लासिक'बाट आफ्नो पोसाक ब्यबस्थापन सहकार्य गर्न पाउँदा निकै नै आभारी भएको र नेपाली फिल्मसँगको आफ्नो यो पहिलो आधिकारिक सहकार्यलाई 'क्लोथ्स् नेपाल'को पहिलो सफलता मानेको संचालक थापाले बताए ।
'मेरो एउटा साथी छ' मार्फत दर्शकको मनमनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी 'नोभेम्बर रेन' पश्चात सबैभन्दा उत्कृष्ट फिल्म जोडीको रुपमा चिनिए । 'आइ एम सरी' र 'नोभेम्बर रेन' जस्ता ब्यबसायिक सफल फिल्म दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतले पुन: यो जोडीलाई 'क्लासिक' मार्फत पर्दामा देखाउने छन् ।
म्युजिकल रोमान्टिक ड्रामा भनिएको 'क्लासिक' आउदो बैशाख १५ बाट छायांकनमा जाँदैछ । सुवास गिरीको लगानीमा कमल गिरीले निर्माण सहयोग गर्ने यस फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन तथा छेतन गुरुङको कथा लेखन छ ।

