फिल्मको अवस्था जेसुकै होस् निर्माणको क्रम भने रोकिएको छैन । दिनदिनै नयाँ फिल्म घोषणा हुने र फ्लोरमा जाने क्रम जारी छ । वैशाखमा मात्रै कम्तीमा आधा दर्जन फिल्म फ्लोरमा जाँदैछन् । वैशाखमा सुटिङमा जानेमा भुवन केसीको निर्देशकिय डेब्यु फिल्म ‘ड्रिम्स’ पहिालो नम्बरमा रह्यो । फागुन देखि सुटिङमा जाने हल्ला चलाउँदै आएको फिल्म अन्ततः वैशाखको तीनगतेबाट सुटिङमा गएको हो । भुवन पुत्र अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्मको सुटिङ अपर मुस्ताङबाट थालिएको छ ।
‘फिटकिरी’ बाट निर्देशनमा हामफालेका नाटककार अनुप बरालले पनि यही हप्ताबाट ‘दोख’को सुटिङ थालिसकेका छन् । अनुपले भोजपुरबाट सुटिङको थालनी गरिसकेका छन् ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी रहने फिल्म ‘क्लासिक’ले पनि आउँदो महिनाको १५ गतेबाट सुटिङ थाल्ने घोषणा गरिसकेको छ । आर्यनको डेटका कारण सर्दै आएको यो फिल्म पनि अन्ततः १५ गतेबाट फ्लोरमा जाँदैछ ।
गत भेलेन्टाइनको दिन घोषणा भएको फिल्म ‘लभ बर्डस’ पनि वैशाखको अन्त्यबाट सुटिङमा जाने तयारीमा छ । गीत तथा कलाकार फाइनल गरेको फिल्म छायांंकरको टुंगो लाग्ने बित्तिकै फ्लोरमा जाने तयारीमा छ । फिल्मलाई सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेका हुन् ।निरक पौडेलको फिल्म ‘होमवर्क’मा सहायक निर्देशक भई काम गरेका कल्याण अधिकारी आउँदो हप्ताबाट ‘यो पागलमन’ निर्देशन गर्दैछन् । फाइनल गरेका कलाकारको समय नमिल्दा ढिलाईमा परेको फिल्म आउँदो हप्ताबाट फ्लोरमा जाने तयारीमा छ ।
पत्रकारबाट निर्देशक बनेका लक्ष्मण सुवेदीको ‘लालजोडी’ पनि वैशाखबाट सुटिङमा जाने तयारीमा छ । सुवास थापा र निता ढुंगानालाई कलाकारको रुपमा फाइनल गरेका सुवेदीले सुवास थापा विदेश यात्राबाट फर्किएलगत्तै सुटिङमा जाने जानकारी गराए ।त्यस्तै निर्देशक मिलन आले मगरले पनि दुई दिन अघि मात्र १० गतेबाट फ्लोरमा जाने गरी ‘लक्ष्य’को घोषणा गरिसकेका छन् । लक्ष्यमा सविन श्रेष्ठ र अनु शाहको जोडी देख्न सकिनेछ ।
यसरी आधा दर्जन भन्दा बढी फिल्महरु एक साथ सुटिङमा जाँदा प्रविधि तथा प्राविधिक दुवैलाई भ्याईनभ्याई भएको छ । तर जति फिल्म सुटिङ भएपनि ढङ्गका फिल्म नबन्दा फिल्म आएको गएको भने पत्तो हुन सकेको छैन ।