वि.सं २०७१ मा नेपाली फिल्मको व्यापार तुलानात्मक रुपमा बलियो बन्यो । करिब १० वटा फिल्मले निर्मातालाई खुशी दिए । बर्षभरि बनेका ८३ वटा फिल्म मध्ये १० वटाले निर्मातालाई व्यापारिक रुपमा बलियो बनाउनु सुखद भएको बताउँछन् फिल्मीकर्मी ।
पुरानो बर्ष सकिएर नयाँ बर्ष आउँदै गर्दा फेरि पनि अब कुन कुन फिल्मले यो बर्षलाई चम्काउन सक्छन् भनेर विश्लेषण गर्न थालिएको छ । अस्तव्यस्त प्रदर्शन र चलचित्र विकास बोर्ड समेत कानमा तेल हालेर बसेको नेपाली फिल्म क्षेत्रमा फिल्म चल्नु आफैमा अचम्म लाग्दो कुरा हो ।
गतबर्षको अन्तिम सातामा प्रदर्शनमा आएका 'हवल्दार सुन्तली' र 'नाई नभन्नु ल ३' ले व्यापारमा नयाँ रेकर्ड राखिरहेका छन्, जुन यो बर्ष पनि कायमै छ । बैशाख ११ गतेबाट प्रदर्शनमा आउन 'रेशम फिलिली' चल्नेमा सबैजना ढुक्क छन् । एउटा गीतले नै यो फिल्मलाई व्यापारिक उचाइमा लैजाने विश्लेषण गर्न सकिन्छ ।
वैशाख २५ गते हलमा लाग्ने फिल्म 'होस्टेल रिटन्र्स' पनि यो बर्षको दाबेदार फिल्म हो । जसले निर्माता र फिल्म क्षेत्रलाई खुशी दिन सक्छ । महंगो बजेटमा बनेको आशातित फिल्म 'चंखे शंखे पंखे'ले पनि व्यापार राम्रो गर्न सक्छ । जेठ १ गते प्रदर्शनमा आउने यो फिल्म लगतै जेठ ८ को कमेडी फिल्म 'अधकट्टी' पनि आशातित छ । जेठकै २२ गते निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा बनेको फिल्म 'भैरव'ले नेपाली फिल्ममा फेरि द्धन्द्धात्मक शैली भित्राउने अपेक्षा गरिएको छ ।
उसो त जेठ १५ गतेकै 'हाउ फन्नी'लाई पनि कमजोर मान्न सकिन्न । यो बर्ष थुप्रै यस्ता फिल्म छन् जसलाई नेपाली फिल्मले पनि आँखा लगाएर बसेको छ । निर्माता छविराज ओझादेखि अभिनेत्री रेखा थापाका फिल्म यो बर्ष फेरि आउनेछन् । अभिनेत्री करिश्मा मानन्धरको निर्माणमा बनेको फिल्म 'फागु' र गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्म 'होमवर्क' भदौ २५ गते प्रदर्शनमा आउँदैछन् । दुई फिल्मले आ-आफ्नै तबरले व्यापार गर्न सक्छन् । सुशिल पोख्रेलको निर्माणमा बनेको 'लभ सब'ले पनि दर्शक हलसम्म तान्न सक्छ ।
अभिनेत्री रेखा थापाले बनाउन लागेको फिल्म 'रामप्यारी' दशैमा प्रदर्शनमा आउनेछ । यसअघि असोज १ गते दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माले बनाएको फिल्म 'वडा नम्बर छ' प्रदर्शनमा आउनेछ । यी दुई फिल्म चल्दैन भन्ने आँट गर्न सक्ने को नै होला र ? तिहारमा निर्माता छविराज ओझा 'किस्मत २' को साथमा आउनेछन् । यस्तै, निर्माता तथा नायक भूवन केसीले बनाउन लागेको फिल्म 'ड्रिम्स'ले पनि यसै बर्ष हल छुनेछ । यो फिल्मको उचाई नबन्दै खुबै देखिएको छ ।
अभिनेता आर्यन सिग्देल र निर्माता सुवास गिरीले मिलेर बनाउन लागेको फिल्म 'क्लासिक' माघ २९ गतेबाट चल्दैछ । यो फिल्म पनि चल्छ भन्ने चर्चा सुरु भैसकेको छ । यस्तै निर्देशक सुरेश दर्पण पोखरेलले पनि यहि बर्ष 'लभ बर्ड्स' फिल्म लिएर आउने तयारी गरेका छन् । नयाँँ अनुहारहरूको बाहुल्यता रहेको यो फिल्मले नयाँँ स्वाद दिन सक्ने आँकलन गर्न सकिन्छ ।
कतिपय फिल्मले अझै प्रदर्शन मिति तय गरेका छैनन् भने कतिपयको छायांकन नै सुरु भएको छैन । चैत्रको अन्तिममा निर्माता तथा निर्देशक विकास आचार्यले फिल्म 'नाई नभन्नु ल ४' लिएर आउनेछन् । यी बाहेक पनि यो बर्ष थुप्रै यस्ता फिल्म छन् जसले दर्शकलाई हलसम्म तान्न सक्छन् । तर, यो बर्ष पनि नेपाली फिल्मको निर्माण र प्रदर्शन गती भने सुस्ताउने छैन ।