अभिनेता रेश मरहठ्ठाले इंगेजमेन्ट गरेका छन् । रेशले बालुवाटार निवासी आश्मी अधिकारीसँग शनिबार राती हिमालय होटलमा इंगेजमेन्ट गरेका हुन् । रेश र आश्मी विगत तीन वर्षदेखि बेस्ट फ्रेण्ड रहँदै आएका थिए । उनीहरुले तीन वर्षे मित्रतालाई सम्बन्धमा परिणत गर्ने निर्णय गरेअनुरुप शनिबार इंगेजमेन्ट गरेका हुन् ।
रेश र आश्मीको चिनजान आश्मीकी दिदी अनितामार्फत् भएको हो । अस्ट्रेलियामा डाक्टर रहेकी अनिता रेशकी साथी हुन् । आश्मी एक दिदी र भाइकी कान्छी बहिनी हुन् ।
सिक्किम मनिपाल कलेजबाट बायोटेकमा मास्टसर्् गरेकी आश्मी फल सेमेस्टरमा पिएचडीका लागि अमेरिका जाँदैछिन् । उनले जेनेटिक्समा पिएचडी गर्न लागेकी हुन् ।
जोडीको विवाहको मिति भने तय भएको छैन । आउँदो एक वर्षभित्रमा विवाह गर्ने योजना बनाएको रहेको रेशले बताए ।
‘मिति तय भइसकेको छैन तर विवाह अमेरिकामा नै गर्ने सोचमा छौं । क्रुजमा विवाह गर्ने सोच छ । ठाउँ चाहिँ सम्भवत फ्लोरिडा हुनेछ,’ रेशले भने । रेशले भने अमेरिकाकै युनिभर्सिटीबाट बिजनेस एडमा मास्टसर्् गरेका छन् । इन्टरनेसनल बिजनेसमा पिएचडी गर्दागर्दै अभिनयमा छिरेका रेशले अमेरिकन टेलिसिरियल ‘टच बाई एन एन्जल’बाट यात्रा सुरु गरेका थिए । रेशले नेपालमा भने करिब एक दर्जन फिल्ममा अभिनय गरेका छन् । उनको निर्माण तथा अभिनय रहेको ‘च्यालेन्ज’ रिलिज हुने क्रममा रहेको छ ।