नेपाली फिल्म बजारमा आजबाट दुई शक्तिशाली फिल्म प्रदर्शनमा आएका छन् । विकास आचार्यले निर्माण गरेको फिल्म 'नाई नभन्नु ल ३' र छविराज ओझाले निर्माण गरेको फिल्म 'हवल्दार सुन्तली' हलमा लागेका छन् । यी दुबै फिल्मको बक्स अफिस टकराव रोचक बन्ने धेरैको विश्वास छ ।
फिल्म 'हवल्दार सुन्तली' र 'नाई नभन्नु ल ३' को बिषयवस्तु फरक छ । जसका कारण पनि यी दुई फिल्म हेर्न दर्शक बाँडिने पक्का छ । देशभरका हलमा दुई फिल्मले राम्रो ओपनिङ गरेको रिपोर्ट प्राप्त भएको छ । फिल्म हवल्दार सुन्तलीले काठमाण्डौ र मोफसलका हलमा प्रतिक्रिया पनि उत्कृष्ट पाएको वुझिएको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्ममा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडाको मुख्य भूमिका छ ।
यस्तै, मुष्कान ढकालले निर्देशन गरेको फिल्म नाई नभन्नु ल ३ ले पनि ओपनिङ सुखद गरेको छ । सुरज सिंह ठकुरी, आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मीको मुख्य भूमिका रहेको यो फिल्म प्रिमियरमा नै रुचाइएको थियो । फिल्मले ओपनिङ राम्रो गरेको हलसंचालकहरुले बताएका छन् ।
प्रचारका हिसाबले पनि यी दुई फिल्म अगाडि थिए । यस्तै, आजबाट नै केही सिमित हलमा प्रदर्शनमा आएको फिल्म सेतो वाघको ओपनिङ सामान्य देखिएको छ । यो फिल्म प्रचार प्रसारको हिसाबले पनि कमजोर देखिएको थियो ।

