चैत्र २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हवल्दार सुन्तली’का निर्देशक ऋषि लामिछानेले आफूलाई छोरी र श्रीमतीले नै सेन्सर लगाउने खुलाएका छन् ।
आफूले प्राप्त गरेको कथावस्तु पहिले श्रीमतीलाई देखाउने अनि मात्र छायांकन सुरु गर्ने उनको भनाई छ । ऋषिले भने– ‘मेरा लागि श्रीमती र छोरी नै पहिलो सेन्सर हुन् । दुई जनाले पास नगरेसम्म म फिल्मको छायांकन नै सुरु गर्दिन ।’
रोचक कुरा त के छ भने, यो फिल्ममा ऋषिले श्रीमती सरिता लामिछानेलाई पनि अभिनय गराएका छन् । सरिता यो फिल्ममा बलात्कृत हवल्दार सुन्तली धामीको पक्षमा वकालत गर्ने वकिलको रुपमा देखिनेछिन् ।
फिल्ममा समावेश ‘घन्टी बज्यो’ बोलको गीतको एक दृश्यमा आफ्नी छोरी आपत्ती जनाएको ऋषि र सरिताको भनाई छ । ‘घन्टी बज्यो’ भन्दै शिल्पाको एक अंगमा नायकले छोएपछि निर्देशक लामिछानेकी ६ बर्षकी छोरीले आपत्ती जनाउँदै त्यो दृश्य गलत भएको बताएकी थिइन् ।

