फिल्म 'नोभेम्बर रेन'को सफलता पश्चात सोही ब्यानरमा नयाँ बर्षको शुरूवातसँगै फिल्म 'क्लासिक'को सुटिङ शुरू गर्ने तयारी गरिएको छ । मंगलबार फिल्मको संगीतको कार्य शुरू गरेर निर्माणको औपचारिक घोषणा गरियो ।


सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको 'क्लासिक' संगीतिक प्रेमकथामा आधारित हुने बताईएको छ । त्यसैले पनि संगीतको काममा ज्यादा मेहनत गरिएको निर्माता सुवास गिरीले बताए ।
मंगलबार राजधानीको सिने जोन स्टुडियोमा गीत इन्सर्ट गर्ने कार्यक्रममा संगीतकार ताराप्रकाश लिम्बुसहित निर्देशक दिनेश राउत, निर्माताद्वय सुवास गिरी र कमल गिरी, गायक युवराज चौलागाईं, गायिका मेलिना राई, छायाँकार राजेश श्रेष्ठ, एरेन्जर राजन इशान लगायतको टोली सहभागी थियो ।
'नोभेम्बर रेन'बाट सांगीतिक पक्षमा जुन सफलता प्राप्त भएको थियो त्यो 'क्लासिक'मा पनि दोहोर्याउन खोज्ने संगीतकार लिम्बुले बताए । छेतन गुरूङको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र दयाहाङ राई मुख्य भूमिकामा हुनेछन् ।

