कुनै समयमा चर्चित अभिनेता रमेश उप्रेतीलाई कमब्याक गराउँदै फिल्म `ब्रासलेट` बन्ने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरियो ।
निर्माता केशव भट्टराईले बनाउन लागेको यो फिल्मलाई निर्मल शर्माले निर्देशन गर्दैछन् । निर्मलले पहिलो पटक निर्देशन गरेको फिल्म 'चकलेट' प्रदर्शनमा आएको छैन ।
फिल्ममा रमेशको साथमा अभिनेत्रीद्धय रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका रहनेछ । उनीहरुको साथमा फिल्ममा नव–कलाकारद्धय रितिक शाही र सुगम शर्मा देखिनेछन् । राजु बजाज, कमल मैनाली, सुनिता ठाकुर लगायतका कलाकारले उनीहरुलाई साथ दिनेछन् ।
फिल्मलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्न लागेको निर्देशक निर्मल शर्माले जानकारी दिएका छन् । निर्माता भट्टराईले 'ब्रासलेट'लाई नेपाली बजार हेरेर सामान्य लगानीमा बनाउन लागेको बताए । अभिनेता रमेश उप्रेतीले आफ्ना लागि हिजोको जस्तो चुनौती आज पनि भएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरे ।






