चैतको मध्यान्नमा पोखरा जिरोकिलोमिटरमा हावाहुरी चल्दै थियो । झरीलाई निमन्त्रणा दिँदै गरेको हावाहुरीकै बीचमा नेपाली फिल्म 'चलेछ बतास सुस्तरी'को सुटिङ धमाधम भैरहेको थियो ।
स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले निर्माण गरेको फिल्म 'चलेछ बतास सुस्तरी' विगत ३ हप्तादेखि पोखराकै विभिन्न स्थानहरुमा सुटिङ भैरहेको छ । सेटमा अभिनेता आकाश पल र अभिनेत्री सुष्मा कार्कीले सट दिईरहेका थिए । झरी पर्ने छाँटकाँट देखिएपछि प्राविधिक र कलाकारहरु जतिसक्दो चाँडो सिन सकाउनमै व्यस्त थिए ।
अभिनेत्री सुष्मा कार्की निकै शालिन पहिरनमा थिईन् । त्यसैमाथि रोदनको दृश्यमा अभिनय गरिरहेकी सुष्मा साविक भन्दा निकै फरक देखिईन् । सधैंं कामुक भुमिकामा देखिने सुष्मा त यो फिल्ममा सोझी पो हुनुभएको ? सोधिएको प्रश्नमा उनले भनिन्– ‘होईन, कलाकार भएपछि जस्तो भूमिकामा पनि देखिनुपर्छ । म यो फिल्ममा सोझी केटीको भुमिकामा छु त्यसैले सोझी देखिनेखालको पहिरन लगाएकी हुँ । त्यसैमाथि मैले अब अंगप्रदर्शन गर्ने खालको भूमिकामा नदेखिने विचार गरेकी छु ।’
त्यत्तिकैमा अभिनेता आकाश पलले केहिबेरका लागि आराम पाए । फिल्ममा आफ्नो भुमिकालाई लिएर यसरी गफिए– ‘फिल्म निकै राम्रोसँग सुटिङ भैराखेको छ । मेरो भूमिका निकै राम्रो छ । यो फिल्मले मेरो करिअर उकास्नेमा म ढुक्क छु ।’ यसअघि 'ईच्छा' फिल्ममा खेलिसकेका अभिनेता पल यो फिल्मले आफुलाई दर्शकमाझ चिनाउनेमा विश्वस्त देखिए ।
फिल्मलाई दुई जना महिला निर्देशकहरुले एकै साथ निर्देशन गरिरहेका छन् । शबु सुवेदी र अनिरा खड्का फिल्मका निर्देशकहरु हुन् । उनीहरु दुवैजनाको यो फिल्म डेब्यू निर्देशन हो । ‘पहिलो फिल्म भएपनि निकै राम्रो सँग काम भैरहेको छ । राम्रो टिम भएकोले हामीलाई केहि सजिलो भएको छ’, दुवैजना निर्देशकहरुले एकै स्वर गरे– ‘हामी दुई जना मिलेर काम गर्दा अझै सजिलो भएको छ ।’
निर्माता समेत रहेका स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले फिल्मको ९० प्रतिशत सुटिङ सकिएको जानकारी दिए । दशैँ अगाडिसम्म प्रदर्शनमा ल्याईसक्ने योजना सहित काम गरिरहेको यूनिटले फिल्म दर्शकले रुचाउनेमा ढुक्क छ ।